Saturday, November 10, 2018

मानिस वा प्रणाली


चाइनिजमा एउटा कथन छ, यदि तपाई ६ महिना भित्र केहि कटनी गर्न चाहनुहुन्छ भने धान रोप्नुहोस् , १० वर्ष भित्र कटनी गर्नचाहनुन्छ भने रुखको खेति गर्नुहोस् , यदी सधैको निम्ती कटनी गर्न चाहनुहुन्छ भने “मानीस”मा लगानी गर्नुहोस् । मलाई कता-कता यो भनाईले हाम्रो शालोम मण्डलीको ईतिहासतिर लैजान्छ । आजको मेरो वर्तमान, वास्तवमा शालोम परीवारको लगानी, प्रार्थना र उत्साह हो ।
 सन् २००१ तिर हो, जब म एक वर्षिय वाइबल अध्ययन समाप्त गरी साकेतबाट मुनरिका आएको थिए । बाईबल स्कुलमा रहदा दिल्लीमा नेपाली मण्डली पनि रहेछ भनि सुन्दा आफ्नै घर जस्तै लाग्यो । त्यसताका दिल्ली मिशन फिल्डले आफ्नो कार्य दिल्ली लगाएत त्यसका वरीपरीका इलाकामा गरीरहेको थियो । मैले पनि दिल्ली मिशन फिल्डमा केहि समय काम गर्ने अवसर पाए । यदि इमान्दारी पुर्वक छातीमा हात राखेर भन्नुपर्दा दिल्ली मिशन फिल्डको तालिम र शालोम मण्डलीको मिशनको रणनीतीले नै मलाई अहिले नेपालको मध्य तथा सुदुर पश्चिमका क्षेत्रमा प्रभुका कार्य गर्न सहज बनाई दिएको छ ।

मलाई ईतिहास कोट्याउन मन लाग्यो । सायद यो मेरो लेख, यस कथामा भिजीएका मित्रहरुले अवश्य बुझनुहुन्छ । थुप्रै सम्झनाहरुबाट केहि भएपनि म यहाँ उतार्ने प्रयत्न गर्नेछु । शालोम मण्डली पहिला मुनरिक मण्डली भनेर नै चिनिन्थ्यो । संगती गर्ने सोनो कोठा भए पनि मण्डलीको मन ठुलो थियो । मुनरिका मण्डलीको चरीत्र नै प्रार्थना बनिसकेको थियो । मलाई ती दिनहरु याद छन्, जब घर मालिकले संगती घर खाली गरीदिने धम्की दिन्थ्यो र मण्डलीको एक मात्र उपाय हुन्थयो — प्रार्थना थियो । दिल्लीमा नेपाली भाषीहरुको संघर्ष र चुनौतीहरु उल्लेख गरीरहनुपर्ने आवश्यकता छैन , तर जे जस्तो भएतापनि परमेश्वरको अनुग्रहले मण्डलीलाई कहिल्यै छाडेर गएन । मण्डलीको निम्ति “मानीसहरु” केन्द्र विन्दु नै थियो । दिल्ली मिशन फिल्डको भजन पुस्तकको मुख्य कथन नै “मण्डलीलाई मानीसहरुकहाँ पुगाउने” भन्ने थियो । सायद यहि कुरा शालोम मण्डली, तत्कालिन मुनिरका मण्डलीको गहना हो भन्दा फरक पर्दैन होला । हाम्रा ख्रिष्टमस कार्यक्रमहरुले केक वा चकलेटको रौनक विरलै देख्न पाए, तर पक्कै पनि नयाँ मानिसहरुका निम्ति सुसमाचार को रौनक लिएर आउथे र आउछन् । हाम्रा भि. बि. एस. कार्यक्रममा रसना र बिस्कुट मै भए पनि सयौं नानीबाबुहरुले परमेश्वरको संदेश सुन्ने अवसर पाएका थिए र छन् । परमेश्वरको कार्यको निम्ति स्रोतको आवश्यकता भन्दा हृदयको आवश्यकता पर्दो रहेछ । कति पटक शालोम मण्डलीले आर्थिकताको संघर्ष गर्नु परेता पनि परेमेश्वरको सेवा प्रतिको तृष्णामा खेरेडीको महशुस गरिएन् । हाम्रा संगतीहरु कोटलातिर राती १२ बजे शुरुवात भएर विहान ३, ४ बजे समाप्त हुन्थे । कारण पुभुको कार्यमा मानीसहरु महत्वपुर्ण थिए । मण्डलीले कहिल्यै पनि बाहिरको मुख ताक्न सिकेन । मण्डलीले दिनेकुरामा कहिल्यै पछी परेन । नेपाल र इन्डियामा विभिन्न प्रकारले शालोम मण्डलीले सहायताको हाथ बढाएको उदाहरणहरू तपाई हामी सामु नै छन् । यो गुणहरुको जग हाल्नुहुने सम्पुर्ण अगुवाजन र पाष्टर उमानन्द दाजुको निम्ती म परमेश्वरलार्ई धन्यवाद दिन्छु ।
मलाई इस्राइएलीहरुको यर्दन यात्राको सम्झना आउछ । इस्राएलीहरु यरीहो र यर्दन नदीको ठीक पूर्वपट्टी छाउनी हालेर बसेको धेरै भईसकेको थियो । वास्तवमा उनीहरुको मिशन त्यहाँसम्मका निम्ति थिएन, तर प्रतिज्ञाको देशका निम्ति थियो । तर त्यहाँको वातावरण र भौगोलिक बनावटले इस्राएलीहरुलाई आकर्षित गरीसकेको थियो । कता—कता उनीहरुको निम्ति प्रतिज्ञाको देश नयाँ विषय हुन थालिसकेको थियो । सायद यो हामी सबै शालोम मण्डली परीवारको निम्ति चुनौति हो र हामीपनि आफ्नो प्रतिज्ञाको देशलाई नबिर्सौ । ( व्यवस्था ३४ः१ र यहाशू १) अर्को एउटा कुरा म नयाँ नियमबाट लिन चाहन्छु । प्ररितको पहिलो भागमा मण्डलीको वास्तवविक चित्रण पाईन्छ । यरुशलेमको मण्डलीमा मानिसको दिनहु वृद्धि भईरहेको थियो । सुसमाचार यरुशलेम र यहुदियाका इलाकामा फैलिरहेको थियो । प्ररित ६ अध्यायमा आउन नपाउदै मण्डलीको सोचमा परिवर्तन आएको पाईन्छ । कता—कता अब मानिस (People) भन्दा प्रणाली (System) हावी भईरहेको थियो । ८ अध्यायले मण्डलीको नयां युगको शुरुवात गरीदिन्छ । मण्डली अब तितर-वितर भयो । यसो हेर्दा अचम्भ लाग्न सक्छहोला । तर वास्तविकता यहि थियो की, परमेश्वरको इच्छा मण्डलीको निम्ति मानिसहरु नै थियो ।
कालान्तरमा आईसकेपछी शालोम मण्डलीले पनि केहि आवश्यकता महशुस गर्यो । हामीलाई अलि उपयुक्त स्थानको आवश्यक देखियो । कहिले सम्म हामी भाडामा भौतारीरहने ? प्रश्न स्वाभाविकै थियो । मण्डलीले प्रार्थना गरेअनुरुप परमेश्वरले जवाफ पनि दिनुभयो । शालोम मण्डलीले मेहरौलिमा आवश्यकता अनुरुप फ्ल्याट खरीद गर्नसक्यो । परमेश्वरको महिमा भएको होस् । अब सबै ठिकै छ जस्तो देखिन्छ । हामीहरु पहिलोका भन्दा व्यवस्थित पक्कै भएका छौ । तर हामी सबैले याद गरौं ति दिनहरु, जहाँ आवश्यकता थिए तर त्यो भन्दा अधिक प्रभुको निम्ति प्यास थियो । शालोम मण्डली मानिसहरुका निम्ति सदैव भोको थियो र आशा छ भविष्यका दिनहरुमा शालोमको भोक सदैव मानिसहरु प्रति रहिरहनेछ । आमेन।




No comments: