Sunday, October 4, 2026

नेपाली मण्डलीमा भेटी र दशांश: बुझ्न र बुझाउन नसकेको पहेली

नेपाली मण्डलीमा गम्भीर भएर मनन गर्नुपर्ने विषयहरूमध्ये एउटा हो-  “परमेश्वरको राज्यमा दिने कुरा।” भेटी, दशांश, दान, मुठि दान जस्ता शब्दावलि हाम्रो मण्डली जीवनका परिचित शब्दहरू हुन्। मण्डलीको सेवा, सुसमाचारको काम तथा कठिन परिस्थिति एवंम आवश्यकतामा परेका मानिसहरूको सहयोगका लागि दिनु निश्चय नै महत्वपूर्ण विषय हो। तर दिने कुरासँग जोडिएका हाम्रा शिक्षाहरू, अभ्यासहरू र त्यसले नेपाली ख्रीष्टयनहरूको मानसपटलमा निर्माण हुदै गरेका धारणाहरूलाई पनि समय-समयमा बाइबलको प्रकाशमा जाँचिरहनु आवश्यक छ। मलाई यो विषयमा धेरै बोल्नु वा लेख्नु आवश्यक छैन भन्ने लागेको थियो। तर मण्डली समाजमा सुधार, परिपक्वता र स्वस्थ विश्वासको विकासका लागि केही असहज लाग्ने विषयमा पनि इमानदारीपूर्वक संवाद गर्न आवश्यक हुन्छ। त्यसैले यस विषयलाई  समग्र बाइबलिय तरिकामा अध्ययन र मनन गरेर बुझ्नु आवश्यक पर्छ।

सबैभन्दा पहिले एउटा आधारभूत कुरा स्पष्ट गरिनु आवश्यक छ। परमेश्वरको काममा दिन पाउनु अवसर हो, करकाप हुदै होइन। पुरानो करारमा कयिन र हाबिलले दिएको कुरादेखि नयाँ करारमा विधवाले दिएको भेटीसम्म हेर्दा, “दिने कुरा” केवल “कति दिइयो” भन्ने मापनसँग सम्बन्धित देखिँदैन; यसको सम्बन्ध मानिसको हृदय र मनसायसँग पनि जोडिएको हुन्छ। त्यसैले म “दिनु” लाई अझ स्वस्थ, स्वेच्छिक, बाइबलीय र जिम्मेवार दृष्टिकोणबाट बुझ्नुपर्छ भन्ने कुरामा जोड दिन चाहन्छु। अब प्रश्न “दिने”  वा “नदिने” भन्ने होइन तर प्रश्न हामी किन दिन्छौँ?,  कसरी दिन्छौँ? र मानिसहरूलाई दिन सिकाउँदा कस्तो परमेश्वरको चित्रण प्रस्तुत गर्छौँ? भन्ने हो। तल उल्लेखित विषयहरू पढ्दै गर्दा यो मर्मलाई नमेटिकन पढ्नलाई अनुरोध गर्न चाहन्छु।

दशांश र नयाँ करारको सन्दर्भ

दशांशको विषयलाई बुझ्दा पुरानो र नयाँ करारको सन्दर्भलाई वृहत प्रकाशमा हेर्नु आवश्यक हुन्छ। पुरानो करारमा दशांश इस्राएलीहरूको धार्मिक, सामाजिक र करारीय जीवनसँग सम्बन्धित रहेको पाइन्छ। यो विषयलाइ लेवीहरूको सेवकाइ, धार्मिक उत्सव, गरिब तथा आवश्यकतामा रहेका मानिसहरूको हेरचाह लगायत विभिन्न पक्षसँग सम्बन्धित छ। त्यसैले पुरानो करारमा उल्लेख भएको दशांशलाई त्यसको ऐतिहासिक र करारीय सन्दर्भबाट अलग गरेर आजको मण्डलीका प्रत्येक विश्वासीमाथि उही प्रकारको नियम हो भनि लागू गर्नु उचित हुन्छ वा हुँदैन भन्ने प्रश्न नेपाली ख्रीष्ट्यन मण्डलीहरूले विचार गर्नुपर्छ। त्यसैले मलाकी र यशैयामा उल्लेखित दशांशसम्बन्धी खण्डहरूलाई ती पुस्तकका प्रारम्भिक प्रापकहरूको सन्दर्भ नबुझी जस्ताको तस्तै वर्तमान मण्डलीमा लागू गर्नु बाइबलीय मर्म र अर्थकै अनर्थ हुन सक्छ।

नयाँ करारमा उल्लेख गरेको “दशांश” शब्दको सन्दर्भ पनि बुझ्नु अति नै आवश्यक हुन्छ। यो भन्दै गर्दा बाइबल परमेश्वरको प्रेरणा पाएर लेखिएको साहित्य (लेख) हो, त्यसैले यसलाई सन्दर्भमा पढिनुपर्छ। सुसमाचारका किताबहरूमा येशूले फरिसीहरूको धार्मिक अभ्यासका सन्दर्भमा दशांशको कुरा गर्नुभएको छ। तर उहाँको मुख्य प्रश्न दशांश दिएकोमा थिएन; बरु उनीहरूले धार्मिक अभ्यासमा (दशांस र अरुकुरामा) अत्यन्तै सावधानि दिएता पनि समाजमा न्याय,  दया र परमेश्वरको राज्य अनि विश्वासजस्ता गहिरा विषयवस्तुहरूलाई बेवास्ता गर्ने प्रवृत्ति प्रति थियो। यसैले येशूको शिक्षालाई केवल “दशांश दिनुपर्छ” भन्ने नियममा सीमित गर्नु उहाँको राज्यको सन्देशलाई साँघुरो बनाउनु हुन सक्छ। (मत्ती २३;२३, लूका ११;४२, लूका १८;१२)। हिब्रूको पुस्तकमा पनि पुरानो करारको सन्दर्भमा दशांशको चर्चा आउँछ। तर त्यसलाई आजको मण्डलीमा आर्थिक नियमका रूपमा सीधा स्थानान्तरण गर्दा त्यसको सम्पूर्ण करारीय र धर्मशास्त्रीय सन्दर्भलाई ध्यान दिनुपर्ने होइन र?  नयाँ करारमा मण्डलीलाई दिने विषयमा पावलको शिक्षालाई हेर्दा पनि ध्यान केवल निश्चित दश प्रतिशत पूरा गर्ने कुरामा केन्द्रित भएको पाइँदैन। विशेष गरी कोरिन्थी मण्डलीलाई दिइएको शिक्षामा स्वेच्छा, आफ्नो क्षमता र हृदयको अवस्थालाई महत्वपूर्ण स्थान दिइएको छ। यहाँ दिने कुरा क्यालकुलेटरले दश प्रतिशत निकालेर हिसाब मिलाउने कुरा होइन तर  परमेश्वरप्रतिको विश्वास, उदारता र आफ्नो जिम्मेवारीलाई व्यवहारमा उतार्ने कुरा हो। यो भन्दै गर्दा मैले आफ्नो जीवनको सेवकाइमा केही यस्ता व्यक्तिहरू पनि देखेको छु, जसले आफ्नो कमाइको आधा भाग परमेश्वरको राज्यको काममा दिएका छन्, तर उनीहरूले दिएको कुरा मण्डलीलाई समेत थाहा भएको हुदैन। अर्कोतर्फ, मैले यस्तो पनि देखेको छु कि कसैले आफ्नो जमिन बेचेर मण्डलीमा ठूलो रकम दिएको हुन्छ र त्यसलाई सारा मण्डलीका सामु गवाहीका रूपमा सुनाइन्छ। मण्डलीले यसो गर्नुको उद्देश्य अरूलाई पनि दिने कुरामा उत्साहित गर्नु हुन्छ। त्यसपछि मण्डलीले त्यही व्यक्तिको उदाहरण दिँदै “सबैले उहाँबाट सिक्नुपर्छ” भनेर अरूहरूलाई प्रोत्साहित गर्ने गर्छ। तर दुखको कुरा त्यहि घरमा रहेको विरामी व्यक्तीले आर्थिकी अभाव भएकाका कारण उचित उपचार पाउन सकिरहेको हुदैन्। मैले बुझ्न र बुझाउनै नसकेको पहेली? अझ कतिपय मण्डलीमा दशांश दिने व्यक्तिहरूको नाम मण्डलीका सामु पढेर सुनाउने वा मण्डलीको बोर्डमा टाँस्ने परम्परा पनि देखिन्छ। कतिपय ठाउँमा त दशांश नदिनेहरूको नाम समेत सार्वजनिक गर्ने गरिन्छ। यस्तो अभ्यासले हामीलाई एउटा गम्भीर प्रश्नतर्फ डोर्याउँछ- “हामी मण्डलीमा कस्तो प्रकारको “राज्य” र कस्तो “संस्कृति” निर्माण गर्न चाहन्छौँ?” दिने कुरा मानिसको प्रशंसा, तुलना वा दबाबको विषय बन्ने अथवा परमेश्वरप्रतिको प्रेम, कृतज्ञता र मण्डलीको जिम्मेवारीको स्वाभाविक अभिव्यक्ति बन्ने?  यो प्रश्न नेपाली मण्डलीका अगुवाहरूले गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ। यस्तो अभ्यासले अनजानमै मण्डलीभित्र अस्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने सम्भावना नहोला भन्न सकिन्न। एउटाले यति दियो, अब अरूले पनि त्यति नै दिनुपर्छ भन्ने प्रकारको उदाहरणभन्दा पनि, मानिसहरूले परमेश्वरलाई चिनेर, उहाँको अनुग्रहलाई बुझेर र उहाँको कार्यप्रति आफ्नो जिम्मेवारी महसुस गरेर दिने प्रेरणा पाउनु स्वस्थकर हुन्छ।त्यसैले दिने कुराको मूल्य रकमको आकारमा होइन, परमेश्वरप्रतिको हृदय, विश्वास र समर्पणमा खोजिनुपर्छ।

दिने कुरालाई डरको विषय बनाउने प्रवृत्ति

नेपाली मण्डलीको अभ्यासमा कहिलेकाहीँ यस्तो विचारहरू सुनिन्छ कि दशांश नदिएमा मानिसमाथि श्राप आउन सक्छ, विपत्ति आउन सक्छ वा परमेश्वरको दण्ड भोग्नुपर्छ। अझ कतिपय अवस्थामा दशांश नदिने व्यक्तिलाई आध्यात्मिक रूपमा कमजोर, अनाज्ञाकारी वा परमेश्वरबाट टाढा रहेको मानिसका रूपमा हेर्ने प्रवृत्ति पनि देखिन्छ। यस्तो शिक्षाले ख्रीष्ट-विश्वासीलाई दिने कुरामा प्रेरित गर्नुभन्दा डरमा राख्न सक्छ। मानिसले परमेश्वरलाई प्रेम र कृतज्ञताका साथ दिनेभन्दा पनि विपत्ति नआओस् भन्ने डरले दिन थाल्न सक्छ। त्यसो हुँदा दिने कुरा आराधनाको अभिव्यक्ति नभई कुनै अनिष्टबाट बच्न तिर्नुपर्ने “शुल्क” जस्तो बन्न सक्छ। यी कुरा मैले आफ्नै कल्पनाबाट भनेको होइन; दान वा दशांश दिने र दिन नसक्ने मण्डलीका केही व्यक्तिहरूका जीवनबाट आएका अनुभव र कथाहरूबाट लिएको हुँ। मैले कति परिवार यस्तो पनि देखेको छु, जसको कमाइले महिनाभरि दाल-भात जुटाउन नै मुस्किल हुन्छ। यस्तो अवस्थामा पनि उनीहरूलाई दशांश वा भेटीका नाममा आत्मिक दबाब दिनुपर्छ भन्ने कुरा बाइबलले सिकाउँदैन।उनीहरू प्रति मण्डलीको जिम्मेवारी पनि त होला!  अब नेपाली मण्डलीमा दिने विषयमा सुनिने गरेका केही मनगढन्ते र गलत धारणाहरूको चर्चा गर्न चाहन्छु।

१. “पृथ्वीमा जति धेरै दिनुहुन्छ, स्वर्गमा त्यति नै धेरै परमेश्वरले दिनुहुन्छ।”

दिने कुरालाई परमेश्वरसँगको आर्थिक लेनदेन जस्तो बनाउनु खतरनाक हुन्छ। लूकाको  किताबबाट लिइने यो वाक्याश प्रचार गर्दै गर्दा “क्षमा” लेनदेनको विषयमा जोड दिदा पक्कै सन्दर्भसँग मेल खान्थ्यो तर शब्द मिल्यो भन्दैमा यसलाई भेटि र दशांसमा जोड दिएर व्याख्या गरिनु त बाइबलिय साहित्यको मर्ममा चोट पुर्याउनु नै हो। “मैले यति दिएँ, अब परमेश्वरले मलाई त्यति नै दिनुपर्छ” भन्ने सोचले विश्वासलाई परमेश्वरसँगको सम्बन्धबाट हटाएर आशिष प्राप्त गर्ने सूत्रमा बदल्न सक्छ। परमेश्वरलाई पैसा दिएर उहाँ किन्ने कुरा पनि त होइन। दिने कुरालाई आशिष प्राप्त गर्ने निश्चित फर्मुला बनाउनु गम्भीर विषय हो। यदि हाम्रो दिने कुराको मुख्य उद्देश्य नै “मैले धेरै दिएँ भने परमेश्वरले मलाई अझ धेरै दिनुहुन्छ” भयो भने हामीले परमेश्वरलाई आराधना गरिरहेका छौँ वा आशिषलाई खोजिरहेका छौँ? यो प्रश्न प्रत्येक विश्वासीले आफैँलाई सोध्नुपर्छ। हामी प्रायः “परमेश्वरलाई दिन्छौँ” भन्दै गर्दा वास्तवमा यो सबै धन-सम्पत्ती मण्डलीको सेवा, सुसमाचारको काम,  सामाजिक सेवा वा आवश्यकतामा रहेका मानिसहरूतर्फ जान्छ (जानुपर्ने हो)। त्यसैले “परमेश्वरलाई दिनु” भन्नाले परमेश्वरलाई पैसाको आवश्यकता छ भन्ने अर्थ होइन। बरु परमेश्वरप्रतिको हाम्रो विश्वास, कृतज्ञता, उदारता र जिम्मेवारीलाई मानिस र समुदायको आवश्यकतामा प्रयोग गर्नु हो (ख्रीष्ट्यनहरूको मात्र होइन)। मण्डली चलाउन आर्थिक स्रोत आवश्यक पर्छ। सुसमाचारको काम गर्न, सेवकाइ सञ्चालन गर्न, आवश्यकतामा परेकाहरूलाई सहयोग गर्न र विभिन्न सामाजिक तथा मानवीय आवश्यकतामा सहभागी हुन स्रोत चाहिन्छ। यस अर्थमा मण्डलीमा दिने कुरा आवश्यक र सम्मानयोग्य अभ्यास हो।

२. “दशांश दिनुभएन भने तपाईंमाथि श्राप आउँछ।”

यो शिक्षालाई सावधानीपूर्वक जाँच्नुपर्छ । ख्रीष्ट-विश्वासीलाई श्राप र विपत्तिको डर देखाएर पैसा दिन बाध्य बनाउनु सुसमाचारको स्वतन्त्रता र अनुग्रहसँग मेल खान्छ कि खाँदैन भन्ने प्रश्न हामीले विचार गर्नु आवश्यक छ।  ख्रीष्ट-विश्वासीले परमेश्वरलाई डरले होइन, विश्वास र प्रेमले पछ्याउँछ।

3. मण्डलीले उठाएको भेटी र दशांशको प्रयोग मण्डलीभित्रै मात्र गर्नुपर्छ?

    नेपाली मण्डलीमा सुनिने यस्ता वाक्यांश र तिनले ख्रीष्ट-विश्वासीहरूको जीवनमा पारेको प्रभावलाई बाइबलीय धरातलमा रहेर समीक्षा गर्नु आवश्यक छ। यही सन्दर्भमा मण्डलीले उठाएको भेटी र दशांशको प्रयोग मण्डलीभित्रका काममा मात्र सीमित हुनुपर्छ वा आवश्यकतामा परेका मानिसहरू र समाजको भलाइका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने प्रश्नमा पनि विचार गर्नुपर्ने हुन्छ।

तर प्रारम्भिक मण्डलीको अभ्यासलाई हेर्दा, ख्रीष्ट विश्वासीहरूले आफ्नो स्रोतलाई केवल मण्डलीको आन्तरिक आवश्यकताका लागि मात्र प्रयोग गरेका थिएनन्। उनीहरूले आवश्यकतामा परेका मानिसहरूलाई सहयोग गर्ने, कमजोरहरूको हेरचाह गर्ने र समुदायको भलाइका लागि पनि आफ्ना स्रोतहरू बाँड्ने गरेका उदाहरणहरू भेटिन्छन्।बाइबलिय अगमवक्तहरू जस्तै यशैया, यर्मिया, मलाकिले पुरानो करारमा यिनै विषयलाई सम्बोधन गर्दै दशांसको चर्चा गरका होइनन् र? कालान्तारमा यस्तै सेवाका कामहरू क्रमशः विभिन्न संस्था र संरचनामार्फत व्यवस्थित हुँदै गए। आज नेपालमा पनि विपद्, दुःख र आवश्यकताको समयमा विभिन्न मण्डली तथा ख्रीष्टियन समुदायहरूले सहयोग गर्दै आएका छन्। त्यस्ता सहयोगका लागि प्रयोग हुने स्रोतको एउटा हिस्सा मण्डलीमा उठाइने भेटी र दशांश पनि हो। यसलाई नेपाली मण्डलीले अझ स्पष्ट रूपमा बुझ्न र यसको महत्वलाई स्वीकार गर्न आवश्यक छ।आज धेरै मण्डलीहरूले सेवाको कार्यहरू सञ्चालन गरेका छन्, गरिब तथा असहायहरूलाई सहयोग गरेका छन्, शिक्षा, स्वास्थ्य वा सामाजिक सेवाका विभिन्न काममा सहभागी भएका छन्। यस्तो अवस्थामा मण्डलीले उठाएको भेटी र दशांश प्रयोग गर्न हामी किन हिचकिचाउँछौँ? मण्डलीको आर्थिक स्रोत मण्डलीका आवश्यकताका लागि प्रयोग हुनु स्वाभाविक र आवश्यक पनि हो।

तसर्थ दिने कुरालाई मानिसमाथि नियन्त्रण गर्ने साधन बनाउनु कदापी होइन। यस विषयमा सबैभन्दा गम्भीर प्रश्न सायद यही हो—हामी मण्डलीमा भेटी उठाउँदा जति उत्साह र जोडका साथ बोल्छौँ, के त्यति नै उत्साह र जोडका साथ येशू र उहाँको वचनको चर्चा गर्छौँ? हामी मानिसहरूलाई कति दिनुपर्छ भनेर सिकाउन जति समय खर्च गर्छौँ, के त्यति नै समय उनीहरूलाई येशूको जीवन, प्रेम, क्षमा, न्याय, दया, विश्वास र परमेश्वरको राज्यको बारेमा बुझाउन, लागु गर्न र प्रचार गर्न खर्च गर्छौँ? यदि मण्डलीमा पैसा दिने विषयले येशूलाई पछाडि पार्न थाल्यो भने हामीले आफैँलाई रोकिएर जाच्नुपर्ने हुन्छ। मण्डलीको आर्थिक आवश्यकता वास्तविक हुन सक्छ, तर त्यो आवश्यकता पूरा गर्ने क्रममा सुसमाचारको केन्द्र हराउनु हुँदैन। मण्डलीले मानिसलाई केवल दिने मानिस बनाउने होइन; उसलाई येशूलाई पछ्याउने, उहाँको वचन बुझ्ने, अरूलाई प्रेम गर्ने, न्याय र दयामा हिँड्ने र आफ्नो जीवन परमेश्वरको राज्यमा समर्पित गर्ने विश्वासी बनाउनु हो।

मण्डलीले “दिने” कुरालाई कसरी अभ्यास गर्ने?

यदि कसैले यो लेख पढेर “दशांश दिनु गलत हो” भन्ने निष्कर्ष निकाल्छ भने, सम्भवतः उसले यस लेखको मूल आशय बुझ्न सकेको छैन। दशांश दिनु गलत होइन; तर दशांशलाई एउटा बाध्यकारी धार्मिक नियम वा विधिका रूपमा प्रस्तुत गर्नुचाहिँ विचार गर्नुपर्ने विषय हो। परमेश्वरको सेवामा आफ्नो स्रोत दिनु वास्तवमा ख्रीष्ट-विश्वासीको जिम्मेवारी र जवाफदेहितासँग पनि जोडिएको कुरा हो। तर दिने कुरालाई निश्चित प्रतिशतमा मात्र बाँधेर त्यसैलाई बाइबलीयताको मापदण्ड बनाउनु नयाँ करारको दिने शिक्षाको व्यापक मर्मसँग मेल खाँदैन। नयाँ करारको शिक्षा हेर्दा दिने कुरा स्वेच्छा, उदारता, आफ्नो क्षमता र आवश्यकताप्रतिको संवेदनशीलतासँग जोडिएको देखिन्छ। प्रेरितहरूको पुस्तकमा प्रारम्भिक मण्डलीका ख्रीष्ट-विश्वासीहरूले आफ्ना स्रोतहरू एकअर्कासँग बाँडेको र आवश्यकतामा परेकाहरूलाई सहयोग गरेको उदाहरणहरू हामी देख्छौँ। त्यसैगरी, अनिकालको समयमा एउटा मण्डलीले अर्को मण्डलीकाहरूलाई सहयोग गरेको घटना पनि प्रेरित ११ अध्यायमा उल्लेख गरिएको छ। यसैले मण्डलीको दिने संस्कृति केवल आफ्नै मण्डलीका आवश्यकतामा सीमित नभई, आवश्यकतामा परेका मानिसहरू र समुदायसम्म पुग्नुपर्ने कुरा पनि देखाउँछ। येशूले पनि “लिनुभन्दा दिनु धन्य हो” भन्नुभएको कुरा लूकाले प्रेरित २०:३५ मा उल्लेख गरेका छन्।  हृदयबाट दिइएको स्रोतले मानिसको जीवनमा परिवर्तन ल्याउन सक्छ र त्यसबाट परमेश्वरको महिमा हुन सक्छ।

यही सन्दर्भमा एउटा गम्भीर प्रश्न हामीले आफैँलाई सोध्नुपर्छ “के मण्डली आफ्नै आवश्यकताका लागि मात्र बाँच्ने हो?”  संसारमा आज पनि भोक, गरिबी, विपत्ति र अभावमा रहेका असंख्य मानिसहरू छन्। अर्थशास्त्री अमर्त्य सेनले विश्वमा खाद्य अभावभन्दा पनि स्रोतको असमान पहुँच र वितरणले भोकमरीलाई गम्भीर बनाउनेतर्फ ध्यान खिचेका छन्। यसले पनि एउटा महत्वपूर्ण प्रश्न उठाउँछ—हामीसँग भएको स्रोतलाई कसरी बाँड्छौँ र कसका लागि प्रयोग गर्छौँ? त्यसैले, यस लेखको आशय दशांश दिनु हुँदैन भन्ने होइन। बरु, दिने कुरालाई केवल एउटा धार्मिक विधि, निश्चित प्रतिशत वा बाध्यकारी नियममा सीमित गर्नु हुँदैन भन्ने हो। दिने कुरा राज्यको संस्कृतिको हिस्सा हो; यो परमेश्वरप्रतिको प्रेम, कृतज्ञता, उदारता र अरूप्रतिको जिम्मेवारीबाट जन्मिने हृदयको विषय हो।

Sunday, August 23, 2026

नेपाली ख्रीष्ट्यन भजन-गीतहरूमा धर्मशास्त्रीय विवेकको आवश्यकता

भजन ८३२

ख्रीष्ट्यन आराधनामा भजन-गीतको स्थान अत्यन्त महत्वपूर्ण छ। भजनले मानिसको भावना छुन्छ,  विश्वासलाई स्मरणयोग्य बनाउँछ र समुदायलाई एउटै विश्वासमा सहभागी गराउँन सहायता गर्छ। बाइबलले पनि परमेश्वरका जनहरूलाई भजन, स्तुति र आत्मिक भजनहरूद्वारा एकअर्कालाई शिक्षा दिन र परमेश्वरको प्रशंसा गर्न आह्वान गर्छ। (कलस्सी ३;१६) त्यसैले ख्रीष्ट्यन भजन शिक्षाको माध्यम पनि हो।

यही कारणले नेपाली मण्डलीमा गाइने भजनहरूको धर्मशास्त्रीय परीक्षण गरीनु आवश्यक छ। कुनै भजनको धुन मीठो हुनु, मानिसलाई भावुक बनाउनु वा त्यसमा “येशू”, “प्रभु”, “क्रूस”, “प्रेम”, “वचन” जस्ता ख्रीष्ट्यन शब्दहरू हुनु मात्रले भजनलाई धर्मशास्त्रीय रूपमा सही छ भनि प्रमाणित गर्दैन। भजनको मूल विचार, प्रयोग गरिएका शब्द, परमेश्वरबारे प्रस्तुत गरिएको धारणा र मानिसको उद्धारबारे दिइएको शिक्षा सबैलाई पवित्रशास्त्रको प्रकाशमा जाँच्नुपर्छ।

भजनसंग्रह आफैँले हामीलाई यसको राम्रो नमुना दिन्छ। बाइबलीय भजनहरू केवल भावनात्मक अभिव्यक्ति होइनन्। तिनमा परमेश्वरको चरित्र, उहाँका काम, मानिसको पाप, पश्चात्ताप, न्याय, उद्धार, दुःख, आशा र परमेश्वरमाथिको भरोसा समेटिएका छन्। त्यसैले नेपाली ख्रीष्ट्यन भजनले पनि भावनालाई धर्मशास्त्रीय सत्यबाट अलग गर्नु हुँदैन। आज त्यस्ता केही भजनहरू छन्, जुन बाइबलका संदेशमा आधारित नभई भजन लेखकहरूको परिस्थिति र अनुभवबाट रचिएका छन्। यस्ता भजनहरूलाई नेपाली मण्डलीले बाइबलको बृहत् धरातलमा रहेर जाँच गर्नु आवश्यक छ। यो स्मरण रहोस् कि यस लेखको आशय यस्ता प्रकारका सबै भजनहरू गलत छन् भन्ने होइन, तर तिनलाई बाइबलको सन्देशको आधारमा हेरिनु आवश्यक छ। आउनुहोस्, यस्तै प्रकारका केही भजनहरूका बारेमा हेरौँ।

नेपाली भजन किताबको ८३२ लाई हेरौं। जहाँ  “भाग्य” शब्दको प्रयोग गरिएको छ। मैले एउटा अगुवाहरू संगतीमा यसको बारेमा कुरा उठाउँदा उहाँहरूलाई अलि असहज महशुज भयो। भजन नं. ८३२ मा वचनलाई परमेश्वरको प्रेम-पत्र, बाटो र ज्योति, भोजन र सान्त्वनाका रूपमा प्रस्तुत गरिएको छ। यीमध्ये धेरै चित्रहरू बाइबलका शिक्षासँग सम्बन्धित छन्। तेस्रो अन्तरामा “वचन हाम्रो तरवार हो, पापीहरूको भाग्य हो” भन्ने पंक्ति आउँछ। यहाँ “भाग्य” शब्दमाथि विशेष ध्यान दिन आवश्यक हुन्छ।नेपाली भाषामा “भाग्य” शब्दले प्रायः मानिसको जीवनमा पूर्वनिर्धारित luck वा fate भन्ने धारणा दिन सक्छ। यदि “पापीहरूको भाग्य” भन्नाले पापीहरूको उद्धार वा विनाश कुनै भाग्य वा लकले निर्धारण गर्छ भन्ने अर्थ लाग्छ भने यस्तो अभिव्यक्ति बाइबलको उद्धारसम्बन्धी शिक्षासँग मेल खादैन। बाइबलले मानिसको उद्धारलाई अन्धो भाग्यको परिणामका रूपमा प्रस्तुत गर्दैन। उद्धार परमेश्वरको अनुग्रह, प्रेम र ख्रीष्टको कार्यसँग जोडिएको छ। “भाग्य” भन्ने सांस्कृतिक अर्थले मानिसको उद्धारलाई कर्म, पूर्वजन्मको पुण्य वा किस्मतसँग जोड्ने सम्भावना राख्छ। त्यसैले ख्रीष्ट्यन भजनमा यस्तो शब्द प्रयोग गर्दा यसको अर्थ स्पष्ट हुनु आवश्यक हुन्छ।

अर्को नेपाली मण्डलीमा गाइने भजन छ जसमा नेपाली समाजका शब्दावलीहरू, जस्तैः चौतारी, अँगालो, आत्मीयता र हृदयको धड्कनहरूको प्रयोग गरीएको छ। यी शब्द र रूपसँग हाम्रो समाज राम्ररी परिचित छ। “चौतारीमा बासेर, अङ्गालोमा हालेर तिम्रो दिलको धड्कन सुनौँला” जस्ता पंक्तिले नेपाली श्रोताको भावनालाई सहजै छुन्छन्। तर यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ। भजनले भावनात्मक रूपमा येशूलाई नजिक ल्याउँदा उहाँबारे बाइबलले दिएको शिक्षालाई पनि सही रूपमा प्रस्तुत गरेको छ कि छैन? येशूसँग आत्मीय सम्बन्धको कुरा बाइबलमा स्पष्ट छ। उहाँले आफ्ना चेलाहरूलाई प्रेम गर्नुभयो, उनीहरूलाई आफ्नो मित्र भन्नुभयो र आफ्ना जनहरूलाई आफूमा रहन बोलाउनुभयो। तर बाइबलले येशूलाई केवल भावनात्मक रूपमा नजिक रहेको प्रिय पात्रका रूपमा मात्र प्रस्तुत गर्दैन। उहाँ प्रभु, उद्धारकर्ता, परमेश्वरका पुत्र, न्यायाधीश र राजा पनि हुनुहुन्छ।

त्यसैले कुनै भजनले येशूलाई केवल “मेरो मनको साथी” वा “मेरो भावनात्मक सहारा” को रूपमा प्रस्तुत गर्छ र उहाँको प्रभुत्व, पवित्रता, क्रूस, पुनरुत्थान र उद्धारको सत्यलाई हराउँछ भने भजनको भावनात्मक शक्ति धर्मशास्त्रीय कमजोरी बन्न सक्छ।भावनाले धर्मशास्त्रलाई प्रतिस्थापन गर्नु हुँदैन। बरु धर्मशास्त्रीय सत्यले भावनालाई दिशा दिनुपर्छ।

तर मण्डलीमा गाइने भजनका लागि अर्को प्रश्न अझ महत्वपूर्ण हुन्छ। सुन्नेहरूले त्यो शब्दबाट के बुझ्छ? धर्मशास्त्रीय रूपमा सही आशय राखिएको शब्दले पनि स्थानीय समाजमा फरक अर्थ बोकेको छ भने त्यसलाई पुनर्विचार गर्नु आवश्यक हुन्छ। भजन मण्डलीको सामूहिक शिक्षाको माध्यम हो। त्यसैले भजनकारले “मैले भन्न खोजेको अर्थ यही हो” मात्र भनेर पुग्दैन। सुन्नेहरू के सुन्छ र के सिक्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ।

जस्तै उदाहरणको निम्ति भजन नं. ४०१ मा प्रयोग भएको युद्धसम्बन्धी भाषाले अर्को महत्वपूर्ण प्रश्न उठाउँछ। “युद्ध”, “वैरी”, “झण्डा”, “तरवार”, “शत्रुलाई हराऔँ” जस्ता शब्दहरू बाइबलमा पनि भेटिन्छन्। त्यसैले यी शब्दहरू प्रयोग हुँदैमा भजन अधर्मशास्त्रीय हुन्छ भन्न मिल्दैन।वास्तवमा नयाँ करारले पनि ख्रीष्टियन जीवनलाई आत्मिक संघर्षको भाषामा प्रस्तुत गर्छ। एफिसी ६ मा पावलले “परमेश्वरको सम्पूर्ण हातहतियार” धारण गर्न आह्वान गर्छन्। त्यहाँ “आत्माको तरवार” लाई परमेश्वरको वचनसँग जोडिएको छ।समस्या शब्दको अस्तित्वमा होइन। समस्या ती शब्दहरूले आजको सामाजिक सन्दर्भमा के अर्थ उत्पन्न गर्छन् भन्नेमा हो।नेपाल बहुधार्मिक र बहुसांस्कृतिक समाज हो। यहाँ “हामी र उनीहरू”, “शत्रु”, “वैरी”, “युद्ध”, “झण्डा” र “तरवार” जस्ता शब्दले धार्मिक संघर्षको भाव उत्पन्न गर्न सक्छन्। विशेष गरी ख्रीष्ट्यन धर्मलाई बाह्य वा विदेशी धर्मका रूपमा हेर्ने मानिसहरूबीच यस्ता भाषाले भजनको मूल आत्मिक आशयभन्दा फरक सन्देश दिन सक्छ भन्ने हो। उदाहरणका लागि “ख्रीष्टको सेना” भन्ने अभिव्यक्ति आत्मिक संघर्षको प्रतीकका रूपमा बाइबलीय सन्दर्भमा बुझ्न सकिन्छ। तर नेपालका गैरख्रीष्ट्यन समुदायले त्यसलाई अरू धर्मविरुद्धको युद्धको भाषाका रूपमा बुझ्न सक्छन्। त्यसैले भजनको धर्मशास्त्रीय सत्य जोगाउँदै सांस्कृतिक सञ्चारलाई पनि विचार गर्नु आवश्यक हुन्छ।

अन्त्यमा भजन-गीतहरूलाई धर्मशास्त्रीय रूपमा परीक्षण गर्दा दुईवटा प्रश्न अलग-अलग सोध्नुपर्छ। पहिलो, यसको धर्मशास्त्रीय अर्थ सही छ कि छैन? दोस्रो, नेपालको वर्तमान बहुधार्मिक सामाजिक परिवेशमा यसको भाषाले कस्तो सञ्चार गर्छ? ख्रीष्ट्यन भजनको मूल्याङ्कन गर्दा पहिलो प्रश्न “भजन कति मीठो छ?” हुनु हुँदैन। पहिलो प्रश्न “भजनले के सिकाउँछ?” हुनुपर्छ। त्यसपछि अर्को प्रश्न आउँछ, “यसले मानिसलाई कस्तो परमेश्वर देखाउँछ?” त्यसपछि, “ख्रीष्ट को हुनुहुन्छ भनेर यसले के सिकाउँछ?” “मानिसको पाप र उद्धारलाई यसले कसरी प्रस्तुत गर्छ?”

“यसमा प्रयोग भएको भाषा बाइबलसँग मेल खान्छ?” “स्थानीय संस्कृतिमा यसले कस्तो अर्थ दिन्छ?” “मण्डलीले यो भजन बारम्बार गाउँदा नयाँ पुस्ताले के सिक्छ?”

यी प्रश्नहरू महत्वपूर्ण छन् किनभने भजन केवल शनिबारको आराधनामा गाइने केही मिनेटको सामग्री होइन। भजन स्मृतिमा बस्छ। मानिसले प्रवचनका धेरै कुरा बिर्सन सक्छ, तर भजनका पंक्ति वर्षौंसम्म सम्झिरहन सक्छ। त्यसैले भजनको धर्मशास्त्रीय कमजोरीलाई “यो त भजन मात्र हो” भनेर बेवास्ता गर्नु उचित हुँदैन।भावना आवश्यक छ, तर भावना पर्याप्त छैन। ख्रीष्ट्यन आराधना भावनाविहीन हुनुपर्छ भन्ने होइन। भजनसंग्रहमा आनन्द, दुःख, डर, आशा, पश्चात्ताप, प्रेम र विजय सबै छन्। समस्या भावनामा होइन। समस्या धर्मशास्त्रीय सत्यबाट अलग भएको भावनामा हुन्छ। एउटा भजनले मानिसलाई रुवाउन सक्छ। अर्को भजनले मानिसलाई नाच्न प्रेरित गर्न सक्छ। अर्को भजनले मानिसलाई शान्त बनाउन सक्छ। तर प्रश्न यो हो, त्यसपछि मानिसले परमेश्वरबारे के सिक्यो?

यदि भजनको भावनात्मक शक्ति धर्मशास्त्रीय सत्यमा आधारित छ भने त्यो आराधनाको शक्तिशाली माध्यम बन्न सक्छ। तर यदि भावनाले शब्दको धर्मशास्त्रीय कमजोरीलाई ढाक्छ भने मण्डलीले विवेक गर्नुपर्छ।

भजन लेखकहरूले पवित्रशास्त्रबाट भजन लेख्ने अभ्यासलाई प्राथमिकता दिनुपर्छ।विशेष गरी भजनसंग्रह, हितोपदेश, अय्यूब, यशैया र अन्य काव्यात्मक पुस्तकहरूले नेपाली ख्रीष्ट्यन भजनका लागि ठूलो स्रोत प्रदान गर्छन्। भजनसंग्रहले मानिसको जीवनका वास्तविक अनुभवलाई परमेश्वरको सत्यसँग जोड्छ। दुःख छ, तर परमेश्वर पनि हुनुहुन्छ। पाप छ, तर पश्चात्ताप पनि छ। न्याय छ, तर अनुग्रह पनि छ। डर छ, तर भरोसा पनि छ। यस्तो भजनले नेपाली समाजको वास्तविक अनुभवलाई बाइबलको सत्यसँग जोड्न सक्छ। हामीलाई केवल “ख्रीष्ट्यन शब्द” भएको भजन चाहिएको होइन। हामीलाई ख्रीष्ट्यन सत्य बोकेको भजन चाहिएको हो। भजनको धुन सुन्दर हुनुपर्छ। भाषा पनि सुन्दर हुनुपर्छ। सांस्कृतिक अभिव्यक्ति पनि स्वाभाविक हुनुपर्छ। तर यी सबैभन्दा माथि भजनले पवित्रशास्त्रको सत्यलाई आदर गरेको गर्नुपर्छ।