![]() |
| भजन ८३२ |
यही कारणले नेपाली मण्डलीमा गाइने भजनहरूको
धर्मशास्त्रीय परीक्षण आवश्यक हुन्छ। कुनै भजनको धुन मीठो हुनु, मानिसलाई
भावुक बनाउनु वा त्यसमा “येशू”, “प्रभु”,
“क्रूस”, “प्रेम”, “वचन” जस्ता ख्रीष्ट्यन
शब्दहरू हुनु मात्रले भजनलाई धर्मशास्त्रीय रूपमा सही प्रमाणित गर्दैन। भजनको मूल विचार, प्रयोग
गरिएका शब्द, परमेश्वरबारे प्रस्तुत गरिएको धारणा र मानिसको उद्धारबारे
दिइएको शिक्षा सबैलाई पवित्रशास्त्रको प्रकाशमा जाँच्नुपर्छ।
भजनसंग्रह आफैँले हामीलाई यसको
राम्रो नमुना दिन्छ। बाइबलीय भजनहरू केवल भावनात्मक अभिव्यक्ति होइनन्। तिनमा
परमेश्वरको चरित्र, उहाँका काम,
मानिसको पाप, पश्चात्ताप, न्याय, उद्धार, दुःख, आशा र
परमेश्वरमाथिको भरोसा समेटिएका छन्। त्यसैले नेपाली ख्रीष्ट्यन भजनले पनि भावनालाई
धर्मशास्त्रीय सत्यबाट अलग गर्नु हुँदैन। आज त्यस्ता केहि भजनहरू जुन नेपाली
मण्डलीले विचार गर्नुपर्ने भजनको चर्चा गर्नेछु।
नेपाली भजन किताबको ८३२ लाई हेरौं। जहाँ “भाग्य” शब्दको प्रयोग गरिएको छ। मैले एउटा अगुवाहरू संगतीमा यसको बारेमा कुरा उठाउँदा उहाँहरूलाई अलि असहज महशुज भयो। भजन नं. ८३२ मा वचनलाई परमेश्वरको प्रेम-पत्र, बाटो र ज्योति, भोजन र सान्त्वनाका रूपमा प्रस्तुत गरिएको छ। यीमध्ये धेरै चित्रहरू बाइबलका शिक्षासँग सम्बन्धित छन्। तेस्रो अन्तरामा “वचन हाम्रो तरवार हो, पापीहरूको भाग्य हो” भन्ने पंक्ति आउँछ। यहाँ “भाग्य” शब्दमाथि विशेष ध्यान दिन आवश्यक हुन्छ।नेपाली भाषामा “भाग्य” शब्दले प्रायः मानिसको जीवनमा पूर्वनिर्धारित luck वा fate भन्ने धारणा दिन सक्छ। यदि “पापीहरूको भाग्य” भन्नाले पापीहरूको उद्धार वा विनाश कुनै भाग्य वा लकले निर्धारण गर्छ भन्ने अर्थ लाग्छ भने यस्तो अभिव्यक्ति बाइबलको उद्धारसम्बन्धी शिक्षासँग मेल खादैन। बाइबलले मानिसको उद्धारलाई अन्धो भाग्यको परिणामका रूपमा प्रस्तुत गर्दैन। उद्धार परमेश्वरको अनुग्रह, प्रेम र ख्रीष्टको कार्यसँग जोडिएको छ। “भाग्य” भन्ने सांस्कृतिक अर्थले मानिसको उद्धारलाई कर्म, पूर्वजन्मको पुण्य वा किस्मतसँग जोड्ने सम्भावना राख्छ। त्यसैले ख्रीष्ट्यन भजनमा यस्तो शब्द प्रयोग गर्दा यसको अर्थ स्पष्ट हुनु आवश्यक हुन्छ।
अर्को नेपाली मण्डलीमा गाइने भजन छ जसमा नेपाली समाजका शब्दावलीहरू, जस्तैः चौतारी, अँगालो, आत्मीयता
र हृदयको धड्कनहरूको प्रयोग गरीएको छ। यी शब्द र रूपसँग हाम्रो
समाज राम्ररी परिचित छ। “चौतारीमा बासेर, अङ्गालोमा
हालेर तिम्रो दिलको धड्कन सुनौँला” जस्ता पंक्तिले नेपाली श्रोताको भावनालाई सहजै छुन्छन्। तर
यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ। भजनले भावनात्मक रूपमा येशूलाई नजिक ल्याउँदा
उहाँबारे बाइबलले दिएको शिक्षालाई पनि सही रूपमा प्रस्तुत गरेको छ कि छैन? येशूसँग
आत्मीय सम्बन्धको कुरा बाइबलमा स्पष्ट छ। उहाँले आफ्ना चेलाहरूलाई प्रेम गर्नुभयो, उनीहरूलाई
आफ्नो मित्र भन्नुभयो र आफ्ना जनहरूलाई आफूमा रहन बोलाउनुभयो। तर बाइबलले येशूलाई
केवल भावनात्मक रूपमा नजिक रहेको प्रिय पात्रका रूपमा मात्र प्रस्तुत गर्दैन। उहाँ
प्रभु, उद्धारकर्ता, परमेश्वरका पुत्र, न्यायाधीश र राजा पनि हुनुहुन्छ।
त्यसैले कुनै भजनले येशूलाई केवल “मेरो मनको साथी” वा “मेरो भावनात्मक
सहारा” को रूपमा प्रस्तुत गर्छ र उहाँको प्रभुत्व, पवित्रता, क्रूस, पुनरुत्थान
र उद्धारको सत्यलाई हराउँछ भने भजनको भावनात्मक शक्ति धर्मशास्त्रीय कमजोरी बन्न
सक्छ।भावनाले धर्मशास्त्रलाई प्रतिस्थापन गर्नु हुँदैन। बरु धर्मशास्त्रीय सत्यले
भावनालाई दिशा दिनुपर्छ।
तर मण्डलीमा गाइने भजनका लागि अर्को प्रश्न अझ महत्वपूर्ण हुन्छ। सुन्नेहरूले त्यो शब्दबाट के बुझ्छ? धर्मशास्त्रीय रूपमा सही आशय राखिएको शब्दले पनि स्थानीय समाजमा फरक अर्थ बोकेको छ भने त्यसलाई पुनर्विचार गर्नु आवश्यक हुन्छ। भजन मण्डलीको सामूहिक शिक्षाको माध्यम हो। त्यसैले भजनकारले “मैले भन्न खोजेको अर्थ यही हो” मात्र भनेर पुग्दैन। सुन्नेहरू के सुन्छ र के सिक्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ।
जस्तै उदाहरणको निम्ति भजन नं. ४०१
मा प्रयोग भएको युद्धसम्बन्धी भाषाले अर्को महत्वपूर्ण प्रश्न उठाउँछ। “युद्ध”,
“वैरी”, “झण्डा”, “तरवार”,
“शत्रुलाई हराऔँ” जस्ता शब्दहरू बाइबलमा पनि भेटिन्छन्।
त्यसैले यी शब्दहरू प्रयोग हुँदैमा भजन अधर्मशास्त्रीय हुन्छ भन्न मिल्दैन।वास्तवमा
नयाँ करारले पनि ख्रीष्टियन जीवनलाई आत्मिक संघर्षको भाषामा प्रस्तुत गर्छ। एफिसी
६ मा पावलले “परमेश्वरको सम्पूर्ण हातहतियार” धारण गर्न आह्वान गर्छन्। त्यहाँ “आत्माको तरवार” लाई परमेश्वरको
वचनसँग जोडिएको छ।समस्या शब्दको अस्तित्वमा मात्र होइन। समस्या ती शब्दहरूले आजको
सामाजिक सन्दर्भमा के अर्थ उत्पन्न गर्छन् भन्नेमा पनि छ।नेपाल बहुधार्मिक र
बहुसांस्कृतिक समाज हो। यहाँ “हामी र उनीहरू”, “शत्रु”,
“वैरी”, “युद्ध”, “झण्डा” र “तरवार” जस्ता शब्दले धार्मिक
संघर्षको भाव उत्पन्न गर्न सक्छन्। विशेष गरी ख्रीष्ट्यन धर्मलाई बाह्य वा विदेशी धर्मका
रूपमा हेर्ने मानिसहरूबीच यस्ता भाषाले भजनको मूल आत्मिक आशयभन्दा फरक सन्देश दिन सक्छ।
उदाहरणका लागि “ख्रीष्टको सेना” भन्ने अभिव्यक्ति आत्मिक संघर्षको प्रतीकका रूपमा बाइबलीय सन्दर्भमा
बुझ्न सकिन्छ। तर नेपालका गैरख्रीष्ट्यन श्रोताले त्यसलाई अरू धर्मविरुद्धको युद्धको
भाषाका रूपमा बुझ्न सक्छन्। त्यसैले भजनको धर्मशास्त्रीय सत्य जोगाउँदै सांस्कृतिक
सञ्चारलाई पनि विचार गर्नु आवश्यक हुन्छ।
अन्त्यमा भजन-गीतहरूलाई धर्मशास्त्रीय रूपमा परीक्षण गर्दा दुईवटा प्रश्न अलग-अलग सोध्नुपर्छ। पहिलो, यसको धर्मशास्त्रीय अर्थ सही छ कि छैन? दोस्रो, नेपालको वर्तमान बहुधार्मिक सामाजिक परिवेशमा यसको भाषाले कस्तो सञ्चार गर्छ? ख्रीष्ट्यन भजनको मूल्याङ्कन गर्दा पहिलो प्रश्न “भजन कति मीठो छ?” हुनु हुँदैन। पहिलो प्रश्न “भजनले के सिकाउँछ?” हुनुपर्छ। त्यसपछि अर्को प्रश्न आउँछ, “यसले मानिसलाई कस्तो परमेश्वर देखाउँछ?” त्यसपछि, “ख्रीष्ट को हुनुहुन्छ भनेर यसले के सिकाउँछ?” “मानिसको पाप र उद्धारलाई यसले कसरी प्रस्तुत गर्छ?”
“यसमा प्रयोग भएको भाषा बाइबलसँग मेल खान्छ?” “स्थानीय
संस्कृतिमा यसले कस्तो अर्थ दिन्छ?” “मण्डलीले यो भजन बारम्बार गाउँदा नयाँ पुस्ताले के सिक्छ?”
यी प्रश्नहरू महत्वपूर्ण छन्
किनभने भजन केवल शनिबारको आराधनामा गाइने केही मिनेटको सामग्री होइन। भजन स्मृतिमा
बस्छ। मानिसले प्रवचनका धेरै कुरा बिर्सन सक्छ, तर भजनका पंक्ति वर्षौंसम्म
सम्झिरहन सक्छ। त्यसैले भजनको धर्मशास्त्रीय कमजोरीलाई “यो त भजन मात्र हो” भनेर बेवास्ता
गर्नु उचित हुँदैन।भावना आवश्यक छ,
तर भावना पर्याप्त छैन। ख्रीष्ट्यन आराधना
भावनाविहीन हुनुपर्छ भन्ने होइन। भजनसंग्रहमा आनन्द, दुःख, डर, आशा, पश्चात्ताप, प्रेम र
विजय सबै छन्। समस्या भावनामा होइन। समस्या धर्मशास्त्रीय सत्यबाट अलग भएको
भावनामा हुन्छ। एउटा भजनले मानिसलाई रुवाउन सक्छ। अर्को भजनले मानिसलाई नाच्न
प्रेरित गर्न सक्छ। अर्को भजनले मानिसलाई शान्त बनाउन सक्छ। तर प्रश्न यो हो, त्यसपछि
मानिसले परमेश्वरबारे के सिक्यो?
यदि भजनको भावनात्मक शक्ति
धर्मशास्त्रीय सत्यमा आधारित छ भने त्यो आराधनाको शक्तिशाली माध्यम बन्न सक्छ। तर
यदि भावनाले शब्दको धर्मशास्त्रीय कमजोरीलाई ढाक्छ भने मण्डलीले विवेक गर्नुपर्छ।
भजन लेखकहरूले पवित्रशास्त्रबाट भजन लेख्ने अभ्यासलाई प्राथमिकता दिनुपर्छ।विशेष गरी भजनसंग्रह, हितोपदेश, अय्यूब, यशैया र अन्य काव्यात्मक पुस्तकहरूले नेपाली ख्रीष्ट्यन भजनका लागि ठूलो स्रोत प्रदान गर्छन्। भजनसंग्रहले मानिसको जीवनका वास्तविक अनुभवलाई परमेश्वरको सत्यसँग जोड्छ। दुःख छ, तर परमेश्वर पनि हुनुहुन्छ। पाप छ, तर पश्चात्ताप पनि छ। न्याय छ, तर अनुग्रह पनि छ। डर छ, तर भरोसा पनि छ। यस्तो भजनले नेपाली समाजको वास्तविक अनुभवलाई बाइबलको सत्यसँग जोड्न सक्छ। हामीलाई केवल “ख्रीष्ट्यन शब्द” भएको भजन चाहिएको होइन। हामीलाई ख्रीष्ट्यन सत्य बोकेको भजन चाहिएको हो। भजनको धुन सुन्दर हुनुपर्छ। भाषा पनि सुन्दर हुनुपर्छ। सांस्कृतिक अभिव्यक्ति पनि स्वाभाविक हुनुपर्छ। तर यी सबैभन्दा माथि भजनले पवित्रशास्त्रको सत्यलाई आदर गरेको गर्नुपर्छ।

No comments:
Post a Comment