Sunday, October 4, 2026

नेपाली मण्डलीमा भेटी र दशांश: बुझ्न र बुझाउन नसकेको पहेली

नेपाली मण्डलीमा गम्भीर भएर मनन गर्नुपर्ने विषयहरूमध्ये एउटा हो-  “परमेश्वरको राज्यमा दिने कुरा।” भेटी, दशांश, दान, मुठि दान जस्ता शब्दावलि हाम्रो मण्डली जीवनका परिचित शब्दहरू हुन्। मण्डलीको सेवा, सुसमाचारको काम तथा विपन्न र आवश्यकतामा परेका मानिसहरूको सहयोगका लागि दिनु निश्चय नै महत्वपूर्ण विषय हो। तर दिने कुरासँग जोडिएका हाम्रा शिक्षाहरू, अभ्यासहरू र त्यसले नेपाली ख्रीष्टयनहरूको मानसपटलमा निर्माण हुदै गरेका धारणाहरूलाई पनि समय-समयमा बाइबलको प्रकाशमा जाँचिरहनु आवश्यक छ। मलाई यो विषयमा धेरै बोल्नु वा लेख्नु आवश्यक छैन भन्ने लागेको थियो। तर मण्डली समाजमा सुधार, परिपक्वता र स्वस्थ विश्वासको विकासका लागि केही असहज लाग्ने विषयमा पनि इमानदारीपूर्वक संवाद गर्न आवश्यक हुन्छ। त्यसैले यस विषयलाई  समग्र बाइबलिय तरिकामा अध्ययन र मनन गरेर बुझ्नु आवश्यक पर्छ।

सबैभन्दा पहिले एउटा आधारभूत कुरा स्पष्ट गरिनु आवश्यक छ। परमेश्वरको काममा दिन पाउनु अवसर हो, करकाप हुदै होइन। बरु म दिनुलाई अझ स्वस्थ, स्वेच्छिक, बाइबलीय र जिम्मेवार दृष्टिकोणबाट बुझ्नुपर्छ भन्ने कुरामा जोड दिन चाहन्छु। प्रश्न “दिने”  वा “नदिने” भन्ने होइन तर प्रश्न हामी किन दिन्छौँ?,  कसरी दिन्छौँ? र मानिसहरूलाई दिन सिकाउँदा कस्तो परमेश्वरको चित्रण प्रस्तुत गर्छौँ? भन्ने हो। तल उल्लेखित विषयहरू पढ्दै गर्दा यो मर्मलाई नमेटिकन पढ्नलाई अनुरोध गर्न चाहन्छु।

दशांश र नयाँ करारको सन्दर्भ

दशांशको विषयलाई बुझ्दा पुरानो र नयाँ करारको सन्दर्भलाई वृहत प्रकाशमा हेर्नु आवश्यक हुन्छ। पुरानो करारमा दशांश इस्राएलीहरूको धार्मिक, सामाजिक र करारीय जीवनसँग सम्बन्धित थियो। यसलाइ लेवीहरूको सेवकाइ, धार्मिक उत्सव, गरिब तथा आवश्यकतामा रहेका मानिसहरूको हेरचाह लगायत विभिन्न पक्षसँग सम्बन्ध रहेको पाइन्छ। त्यसैले पुरानो करारमा उल्लेख भएको दशांशलाई त्यसको ऐतिहासिक र करारीय सन्दर्भबाट अलग गरेर आजको मण्डलीका प्रत्येक विश्वासीमाथि उही प्रकारको नियमका रूपमा लागू गर्नु उचित हुन्छ वा हुँदैन भन्ने प्रश्न गम्भीरतापूर्वक विचार गर्नुपर्छ। मलाकी र यशैयामा उल्लेखित दशांशसम्बन्धी खण्डहरूलाई ती पुस्तकका प्रारम्भिक प्रापकहरूको सन्दर्भ नबुझी जस्ताको तस्तै वर्तमान मण्डलीमा लागू गर्नु बाइबलीय मर्म र अर्थकै अनर्थ हुन सक्छ।

नयाँ करारमा उल्लेख गरेको “दशांश” शब्दको सन्दर्भ बुझ्नु आवश्यक छ। यो भन्दै गर्दा बाइबल परमेश्वरको प्रेरणा पाएर लेखिएको साहित्य (लेख) हो, त्यसैले यसलाई सन्दर्भमा पढिनुपर्छ। सुसमाचारका किताबहरूमा येशूले फरिसीहरूको धार्मिक अभ्यासका सन्दर्भमा दशांशको कुरा गर्नुभएको छ। तर उहाँको मुख्य प्रश्न दशांश दिएकोमा थिएन; बरु उनीहरूले धार्मिक अभ्यासमा (दशांस र अरुकुरामा) अत्यन्तै सावधानि दिएता पनि समाजमा न्याय,  दया र विश्वासजस्ता गहिरा विषयवस्तुहरूलाई बेवास्ता गर्ने प्रवृत्ति प्रति थियो। यसैले येशूको शिक्षालाई केवल “दशांश दिनुपर्छ” भन्ने नियममा सीमित गर्नु उहाँको राज्यको सन्देशलाई साँघुरो बनाउनु हुन सक्छ। (मत्ती २३;२३, लूका ११;४२, लूका १८;१२)। हिब्रूको पुस्तकमा पनि पुरानो करारको सन्दर्भमा दशांशको चर्चा आउँछ। तर त्यसलाई आजको मण्डलीमा आर्थिक नियमका रूपमा सीधा स्थानान्तरण गर्दा त्यसको सम्पूर्ण करारीय र धर्मशास्त्रीय सन्दर्भलाई ध्यान दिनुपर्ने होइन र?  नयाँ करारमा मण्डलीलाई दिने विषयमा पावलको शिक्षालाई हेर्दा पनि ध्यान केवल निश्चित दश प्रतिशत पूरा गर्ने कुरामा केन्द्रित भएको पाइँदैन। विशेष गरी कोरिन्थी मण्डलीलाई दिइएको शिक्षामा स्वेच्छा, आफ्नो क्षमता र हृदयको अवस्थालाई महत्वपूर्ण स्थान दिइएको छ। यहाँ दिने कुरा क्यालकुलेटरले दश प्रतिशत निकालेर हिसाब मिलाउने कुरा होइन तर  परमेश्वरप्रतिको विश्वास, उदारता र आफ्नो जिम्मेवारीलाई व्यवहारमा उतार्ने कुरा हो। यो भन्दै गर्दा मैले आफ्नो जीवनको सेवकाइमा केही यस्ता व्यक्तिहरू पनि देखेको छु, जसले आफ्नो कमाइको आधा भाग परमेश्वरको राज्यको काममा दिएका छन्, तर उनीहरूले दिएको कुरा मण्डलीलाई समेत थाहा भएको छैन। अर्कोतर्फ, मैले यस्तो पनि देखेको छु कि कसैले आफ्नो जमिन बेचेर मण्डलीमा ठूलो रकम दिएको हुन्छ र त्यसलाई सारा मण्डलीका सामु गवाहीका रूपमा सुनाइन्छ। मण्डलीले यसो गर्नुको उद्देश्य अरूलाई पनि दिने कुरामा उत्साहित गर्नु हुन्छ। त्यसपछि मण्डलीले त्यही व्यक्तिको उदाहरण दिँदै “सबैले उहाँबाट सिक्नुपर्छ” भनेर अरूहरूलाई प्रोत्साहित गर्ने गर्छ।अझ कतिपय मण्डलीमा दशांश दिने व्यक्तिहरूको नाम मण्डलीका सामु पढेर सुनाउने वा मण्डलीको बोर्डमा टाँस्ने परम्परा पनि देखिन्छ। कतिपय ठाउँमा त दशांश नदिनेहरूको नामसमेत सार्वजनिक गर्ने गरिएको पाइन्छ। यस्तो अभ्यासले हामीलाई एउटा गम्भीर प्रश्नतर्फ डोर्याउँछ- “हामी मण्डलीमा कस्तो प्रकारको राज्य र कस्तो संस्कृति निर्माण गर्न चाहन्छौँ?” दिने कुरा मानिसको प्रशंसा, तुलना वा दबाबको विषय बन्ने वा परमेश्वरप्रतिको प्रेम, कृतज्ञता र मण्डलीको जिम्मेवारीको स्वाभाविक अभिव्यक्ति बन्ने?  यो प्रश्न नेपाली मण्डलीका अगुवाहरूले गम्भीरतापूर्वक विचार गर्नुपर्ने विषय हो। यस्तो अभ्यासले अनजानमै मण्डलीभित्र अस्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने सम्भावना नहोला भन्न सकिन्न। एउटाले यति दियो, अब अरूले पनि त्यति नै दिनुपर्छ भन्ने प्रकारको उदाहरणभन्दा पनि, मानिसहरूले परमेश्वरलाई चिनेर, उहाँको अनुग्रहलाई बुझेर र उहाँको कार्यप्रति आफ्नो जिम्मेवारी महसुस गरेर दिने प्रेरणा पाउनु सायद अझ स्वस्थकर हुन्छ। दिने कुराको मूल्य रकमको आकारमा होइन, परमेश्वरप्रतिको हृदय, विश्वास र समर्पणमा खोजिनुपर्छ।

दिने कुरालाई डरको विषय बनाउने प्रवृत्ति

नेपाली मण्डलीको अभ्यासमा कहिलेकाहीँ यस्तो विचारहरू सुनिन्छ कि दशांश नदिएमा मानिसमाथि श्राप आउन सक्छ, विपत्ति आउन सक्छ वा परमेश्वरको दण्ड भोग्नुपर्छ। अझ कतिपय अवस्थामा दशांश नदिने व्यक्तिलाई आध्यात्मिक रूपमा कमजोर, अनाज्ञाकारी वा परमेश्वरबाट टाढा रहेको मानिसका रूपमा हेर्ने प्रवृत्ति पनि देखिन्छ। यस्तो शिक्षाले विश्वासीलाई दिने कुरामा प्रेरित गर्नुभन्दा डरमा राख्न सक्छ। मानिसले परमेश्वरलाई प्रेम र कृतज्ञताका साथ दिनेभन्दा पनि विपत्ति नआओस् भन्ने डरले दिन थाल्न सक्छ। त्यसो हुँदा दिने कुरा आराधनाको अभिव्यक्ति नभई कुनै अनिष्टबाट बच्न तिर्नुपर्ने “शुल्क” जस्तो बन्न सक्छ। यी कुरा मैले आफ्नै कल्पनाबाट भनेको होइन; दान वा दशांश दिने र दिन नसक्ने मण्डलीका केही व्यक्तिहरूका जीवनबाट आएका अनुभव र कथाहरूबाट लिएको हुँ। कति परिवार यस्तो पनि देखेको छु, जसको कमाइले महिनाभरि दाल–भात जुटाउन नै मुस्किल हुन्छ। यस्तो अवस्थामा पनि उनीहरूलाई दशांश वा भेटीका नाममा आत्मिक दबाब दिनुपर्छ भन्ने कुरा बाइबलले सिकाउँदैन।उनीहरू प्रति मण्डलीको जिम्मेवारी पनि त होला!  अब नेपाली मण्डलीमा दिने विषयमा सुनिने गरेका केही मनगढन्ते र गलत धारणाहरूको चर्चा गर्न चाहन्छु।

१. “पृथ्वीमा जति धेरै दिनुहुन्छ, स्वर्गमा त्यति नै धेरै परमेश्वरले दिनुहुन्छ।”

दिने कुरालाई परमेश्वरसँगको आर्थिक लेनदेन जस्तो बनाउनु खतरनाक हुन्छ। लूकाको कुराबाट लिइने यो वाक्याश प्रचार गर्दै गर्दा क्षमा लेनदेनको विषयमा जोड दिदा पक्कै सन्दर्भको मेल खान्थ्यो तर शब्द मिल्यो भन्दै मा यसलाई भेटि र दशांसमा जोड दिएर व्याख्या गरिनु त बाइबलिय साहित्यको मर्ममा चोट पुर्याउनु नै हो। “मैले यति दिएँ, अब परमेश्वरले मलाई त्यति नै दिनुपर्छ” भन्ने सोचले विश्वासलाई परमेश्वरसँगको सम्बन्धबाट हटाएर आशिष प्राप्त गर्ने सूत्रमा बदल्न सक्छ। परमेश्वरलाई पैसा दिएर उहाँ किन्ने कुरा पनि त होइन। यदि यसै हो भने पहिलाको हिन्दु विश्वास र यसमा केहि फरक पनि त भएन नि!

२. “दशांश दिनुभएन भने तपाईंमाथि श्राप आउँछ।”

यो शिक्षालाई सावधानीपूर्वक जाँच्नुपर्छ । ख्रीष्ट-विश्वासीलाई श्राप र विपत्तिको डर देखाएर पैसा दिन बाध्य बनाउनु सुसमाचारको स्वतन्त्रता र अनुग्रहसँग मेल खान्छ कि खाँदैन भन्ने प्रश्न हामीले विचार गर्नु आवश्यक छ।  ख्रीष्ट-विश्वासीले परमेश्वरलाई डरले होइन, विश्वास र प्रेमले पछ्याउँछ।

३. “धेरै भेटी दिएमा धेरै आशिष पाइन्छ।”

दिने कुरालाई आशिष प्राप्त गर्ने निश्चित फर्मुला बनाउनु पनि गम्भीर विषय हो। यदि हाम्रो दिने कुराको मुख्य उद्देश्य नै “मैले धेरै दिएँ भने परमेश्वरले मलाई अझ धेरै दिनुहुन्छ” भयो भने हामीले परमेश्वरलाई आराधना गरिरहेका छौँ वा आशिषलाई खोजिरहेका छौँ? यो प्रश्न प्रत्येक विश्वासीले आफैँलाई सोध्नुपर्छ। हामी प्रायः “परमेश्वरलाई दिन्छौँ” भन्छौँ, तर वास्तवमामा यो सबै धन-सम्पत्ती मण्डलीको सेवा, सुसमाचारको काम,  सामाजिक सेवा वा आवश्यकतामा रहेका मानिसहरूतर्फ जान्छ (जानुपर्ने हो)। त्यसैले “परमेश्वरलाई दिनु” भन्नाले परमेश्वरलाई पैसाको आवश्यकता छ भन्ने अर्थ होइन। बरु परमेश्वरप्रतिको हाम्रो विश्वास, कृतज्ञता, उदारता र जिम्मेवारीलाई मानिस र समुदायको आवश्यकतामा प्रयोग गर्नु हो (ख्रीष्ट्यनहरूको मात्र होइन)। मण्डली चलाउन आर्थिक स्रोत आवश्यक पर्छ। सुसमाचारको काम गर्न, सेवकाइ सञ्चालन गर्न, सेवकहरूको खर्च, कमजोरहरूलाई सहयोग गर्न र विभिन्न सामाजिक तथा मानवीय आवश्यकतामा सहभागी हुन स्रोत चाहिन्छ। यस अर्थमा मण्डलीमा दिने कुरा आवश्यक र सम्मानयोग्य अभ्यास हो।तर त्यसको उद्देश्य र तरिका महत्वपूर्ण हुन्छ। दिने कुरालाई मानिसमाथि नियन्त्रण गर्ने साधन बनाउनु कदापी होइन। यस विषयमा सबैभन्दा गम्भीर प्रश्न सायद यही हो—हामी मण्डलीमा भेटी उठाउँदा जति उत्साह र जोडका साथ बोल्छौँ, के त्यति नै उत्साह र जोडका साथ येशू र उहाँको वचनको चर्चा गर्छौँ? हामी मानिसहरूलाई कति दिनुपर्छ भनेर सिकाउन जति समय खर्च गर्छौँ, के त्यति नै समय उनीहरूलाई येशूको जीवन, प्रेम, क्षमा, न्याय, दया, विश्वास र परमेश्वरको राज्यको बारेमा बुझाउन, लागु गर्न र प्रचार गर्न खर्च गर्छौँ? यदि मण्डलीमा पैसा दिने विषयले येशूलाई पछाडि पार्न थाल्यो भने हामीले आफैँलाई रोकिएर जाच्नुपर्ने हुन्छ। मण्डलीको आर्थिक आवश्यकता वास्तविक हुन सक्छ, तर त्यो आवश्यकता पूरा गर्ने क्रममा सुसमाचारको केन्द्र हराउनु हुँदैन। मण्डलीले मानिसलाई केवल दिने मानिस बनाउने होइन; उसलाई येशूलाई पछ्याउने, उहाँको वचन बुझ्ने, अरूलाई प्रेम गर्ने, न्याय र दयामा हिँड्ने र आफ्नो जीवन परमेश्वरको राज्यमा समर्पित गर्ने विश्वासी बनाउनु हो।

अन्ततः प्रश्न रकमको होइन, हृदयको हो। मण्डलीमा दिनु राम्रो कुरा हो। परमेश्वरको राज्यको कामका लागि आफ्नो स्रोत प्रयोग गर्नु ख्रीष्टियन जीवनको महत्वपूर्ण पक्ष हो। तर दिने कुरालाई श्रापको डर, आशिषको लोभ वा धार्मिक नियन्त्रणको माध्यम बनाउनु स्वस्थ मण्डली जीवनको आधार बन्न सक्दैन।

 


No comments: