Tuesday, December 10, 2019

ख्रीष्टमसको चिठि

प्यारो मित्र बिर्खे,
धेरै-धेरै सम्झना र माया!
  
समय पनि कति चाडो बितेको होला, पौष महिना शुरू भएको थाहै भएन! जे होस्, तिम्रो परीवार तिर सबै ठिकै होला भन्ने आशा  लिएको छु । यता तिर हामीहरू सबै कुशल-आरामै छौं ।अं, गएको बेला तिमीले ख्रीष्टमसको बारेमा केहि प्रश्न गरेका थियौं तर समयको अभावले तिमीसँग कुरा गर्न नै पाईन । अब यहि पत्रबाट ख्रीष्टमसको बारेमा  तिमीलाई केहि लेख्न चाहन्छु ।

नेपालमा पौष लाग्यो की ख्रीष्टमसको कुरा शुरु भईहाल्छ । तर दुखको कुरा धेरै नेपालीहरूले यसको वास्तविकता बुझेकै छैनन् । अब के कुरा गर्नु, फेरी नेपाली ख्रीष्ट्यनहरुले पनि बुझ्नु आवश्यक छ ! हेर न, गएको सालमा हाम्रै शहरमा ख्रीष्टमसको बेला ख्रीष्ट्यनहरुले गाऊ-गाऊका चर्चबाट मानिसहरुलाई बजारमा भित्र्याएका थिए । किन यसो गरेको होला भनि मैले एकजना ख्रीष्ट्यनलाई सोधे, र उहाँले यसो भन्नुभयो, हाम्रा ख्रीष्ट्यनहरू कति छन भनि मानिसहरुलाई थाहा हुनुपर्यो नि, राजनैतिक नेताहरुलाई हाम्रो पावर पनि थाहा लागोस् नी ! मलाई ती अगुवालाई देखेर दया पलायो, र पक्कै उहाँको सोच देखेर येशू ख्रीष्ट पनि टिठाउनु हुन्थ्यो होला  ।  

तर जे होस् म तिम्रो प्रश्नको जवाफ दिन तिर लाग्छु । ख्रीष्टमस के हो? यो कहिले देखी शुरुवात भयो? के ख्रीष्टमससँग येशू ख्रीष्टको केहि सम्बन्ध छ त ? के ख्रीष्ट्मस मनाउनका निम्ति येशू ख्रीष्टले आज्ञा गर्नुभएको थियो ? यस्तै-यस्तै बिषयमा रहेर तिमीलाई ख्रीष्ट्मसको बारेमा प्रष्ट पार्ने प्रयास गर्नेछु ।

यद्दपी ख्रीष्टमस भन्नाले येशू ख्रीष्टको जन्मलाई झल्काएता पनि हाम्रो समाज अर्थात चर्चमा देखिने चमक-झमकसँग येशू ख्रीष्टको कुनै सम्बन्ध नै रहेको पाईदैन । पहिलो कुरा, सान्टा क्लाउज ।  ख्रीष्ट्मस ताका सान्टा क्लावजको पहिरनमा मानिसहरू देखिने गर्छन । अख्रीष्ट्यनहुरूले यसो गर्दा के पो नै भन्न सकिन्छ । उनीहरूले नबुझेकाले यसो गरे होलान भन्न सकिन्छ । तर केहि नेपाली ख्रीष्ट्यनलाई के भाको होला? अझै हाम्रो गाऊँमा सान्टा क्लाउज लगाउदै ख्रीष्ट्यनहरू ख्रीष्टमस मनाएको देख्दा मलाई अचम्भ लाग्छ  बा !  ए बाबा, के को बिदेशी तरिका सिक्नु परेको होला? त्यो रातो सान्टासँग येशूको के लेनदेन ? यो सान्टा भनेको के हो  भनि तिमी अचंभ मानौला! त्यो पनि प्रष्ट पार्न चाहन्छु । चौथौ शताब्दिमा  एक जना मानिस - निकोलसको जन्म भएको थियो । उनी पछी गएर लुसियाको बिषप भए पछी उनलाई सेन्ट (पवित्र) निकोलस भन्न थालियो  । उनले समाज सेवा गरेर धेरै नै ख्याति प्राप्त गरेका थिए। कालान्तरमा गएर रोमन क्याथोलिक चर्चले उनलाई सन्तको रुपमा पुज्न नै थाल्यो । युरोपियन एंव उत्तरी अमेरिकाका देशहरूमा डिसेम्बर ६ का दिन निकोलसको पर्व मानिन्छ । मानिसहरुको पहिलेको परम्परालाई निरन्तरता दिनका निम्ति त्यसबेलाका नयाँ ख्रीष्ट-विश्वासी झण्डमा यो पर्वले येशू ख्रीष्टको जन्मको  यादमा "ख्रीष्टमस" मनाएको पाईन्छ । याद गर, बाईबलमा कतैपनि ख्रीष्टमसको बारेमा चर्चा गरेको पाईदैन र येशू ख्रीष्टको जन्मसँग यसको कुनै सरोकारै छैन, न ता  यसले येशू ख्रीष्टको जन्म डिसेम्बर २५ मा भएको  हो भनि भन्दछ ।  यो त अन्य धर्म र विश्वासबाट लिएको पाईन्छ । दोस्रो कुरा, ख्रीष्टमस रूख । यो पनि येशू ख्रीष्टले शुरुवात गरेको होइन । यसको शुरुवातलाई मिश्र र ग्रीकहरूको संस्कृतिसँग जोडिएको छ । अझ भन्नु पर्दा ईतिहासलाई कोट्याउदै जाने हो भने ख्रीष्टमस ट्री - जर्मनी बाट, ख्रीष्टमस कार्ड- इङ्गल्याण्ड बाट र सान्टा क्लावज चाहि -अमेरिकाबाट भित्रिएको हो । यसको बाईबल र येशू ख्रीष्टसँग केहि सम्बन्ध राख्दैन ।  पछी गएर यूरोपले यो परम्परालाई ख्रीष्टमससँग जोडिदियो । अब हामी नेपालीहरुले  यो विदेशी परम्परालाई किन जोड दिनुपरेको होला ! सायद त्यसैले हामीलाई विदेशी धर्म मान्ने भनि आरोप लगाईन्छ ।

बाईबलमा ख्रीष्टमस शब्द नभएपनि यसको बारेमा के भन्छ भनि तिमीलाई उत्सुकता लागेको होला । बाईबलमा एकजना वृद्ध व्यक्ति  शिमियोन जसले यरुशलेमको  मन्दिरमा  येशू  ख्रीष्टलाई  पर्खिरहेका  थिए  ।(लूका २ :५-३२)  उनको  ख्रीष्टमस  मनाउने  तरिका  अलि  फरक थियो  ।  उनले  भनेका  तीन  शव्दहरुको बारेमा  केहि कुरा तिमीलाई पनि भन्न मन लाग्यो । संसार अचम्मको छ, मित्र !  हरेक दिन विश्वमा जतासुकै लडाई, द्धन्द्ध, बम-बारुद,  मृत्यूको खबरले नै समचार-पत्रहरु भरिएका हुन्छन् । सबैलाई भविष्यको डर र चिन्ता छ । तिमीलाई पनि आप्नो भविष्यको चिन्ता त निश्चय नै  होला । बाइबलमा  शिमियोनले  खीष्टलाई  भेट्दा  आफुमा शान्तिको अनुभुति गरेका थिए । संसारले दिने शान्ति क्षणिक हुन्छ तर परमेश्वरले दिने शान्ति अनन्तको हुन्छ । यो  शान्ति हराएर जादैन र मानिसले कमाउन पनि सक्दैन । तर यो परमेश्वरले मानिसलाई  सित्तैमा  दिनुहुन्छ । आज  मानिसहरु शान्ति र आनन्द पाऊनका निम्ति विभिन्न असल कामहरु गर्दछन् । तर हाम्रा असल कामहरुले परमेश्वरको शान्ति पाउन सक्दैनौ । शिमियोनले  ख्रीष्टलाई  भेटदा  उद्धारको  अनुभव  पनि गरेका थिए - दोस्रो महत्वपुर्ण सत्यता । के यो ख्रीष्टमसमा हामीले  पनि  त्यो  मोक्ष  वा  उद्धार  पाएका  छौ  ?  यो  गहिरो  प्रश्न  म  तिमीसीत  गर्न  चाहन्छु  ।  उद्धारको  अनुभव  बिना ख्रीष्टमस मनाउनुको कुनै अर्थ रहदैन । मानिस जन्मिदा नै पापी स्वभावमा जन्मेको हुन्छ । त्यसैले मानिसलाई पापबाट छुटकारा दिनको लागि येशू यस संसारमा आउनु भएको हो । यहि सत्यतालाई याद गर्नका लागि नै हामी सबै ख्रीष्टमस मनाउछौं  ।  तर  यदि  उहाँको  उद्धारलाई  पाएका  छैनौ  भने ख्रीष्टमस उत्सव मनाउनुको के नै पो अर्थ रहयो र !   अन्त्यमा  शिमियोनले  येशूको  आगमनलाई  "मानव जातीलाई मार्गदर्शन (ज्योति) गर्नका निम्ति हो" भनेका छन् । हेर मित्र, मानिसको ज्ञान र बुद्धिले योजना सम्म गर्नसक्ला तर  त्यो  योजनाको  बाटो  तयार  गरिदिने  त  परमेश्वरमात्र हुनुहुन्छ । मानिस  कहिल्यै अध्यारोमा हिड्न सक्दैन । हिड्नका निम्ति ज्योती वा प्रकाशको आवश्यकता पर्दछ । येशू ख्रीष्ट संसारको ज्योति  हुनुहुन्छ  ।  जब  हामी  अन्यौलमा  हुन्छौ  उहाँले  हामीलाई  सही  बाटो  देखाउनु  हुन्छ  ।  हामी  बेचैन  भएको  बेलामा उहाँको शान्तिले हाम्रो हृदय भर्नुहुन्छ ।    आजभोलि  धेरै  मानिसहरुले  ख्रीष्टमसको  वास्तविक अर्थ नै नबुझि ख्रीष्टमस मनाईरहेका छन् । कत्तिले लहैलहैमा २५  डिसेम्बर  को  दिनलाई  मिठो-मिठो  खाने,  राम्रो-राम्रो लगाउने  र  रमाईलो  गरी  मनाउनेमा  मात्र  सिमित  राखेका हुन्छन्  । कति परीवारमा ख्रीष्टमसले ॠण बोकाएर  गईदिन्छ । त्यस्तो पश्चिमी सभ्यताको लहैलहैमा नेपाली ख्रीष्ट्यन नअड्केको होस् भन्ने मेरो प्रार्थना छ  । ख्रीष्टको  उद्धार  पाएर  ख्रीष्टमस  मनाउनुको आनन्द नै बेग्लै हुन्छ ।  
अन्त्यमा,  परमेश्वरले  तिमी  र  तिम्रो  परिवारमा  पनि ख्रीष्टको शान्ति, उद्धार एंव ज्योती ल्याउनुभएको होस् भनि प्रार्थनाका साथ बिदा चाहन्छु ।

परमेश्वरले तिमीलाई आशिष दिनुभएको होस् ।

उहि हितैषि मित्र
बिर्खे

No comments: