Monday, January 31, 2022

आजको मनन ( २ इतिहास १८)

३१ जनवरी, २०२२

 

सत्य मानिसको निम्ति प्रायजसो तितो लाग्ने गर्छ । कसैले हाम्रो बारेमा सत्य तर सुधारको निम्ति केहि कुरा भनिदियो भने हामीलाई अपच्य हुन्छ । त्यसैले त्यस्तो कुरा गर्ने मानिससँग हामी नजदीक हुन पनि चाहदैनौं । आउनुहोस् २ इतिहास १८ अध्यायको घटनालाई मनन गरौं ।

सल्लाहकारको भुमिका अति नै महत्वपुर्ण हुन्छ?  हामीले को सँग सल्लाह लिन्छौ भन्ने कुराले हाम्रो जीवन निर्धारण गर्छ । एकपटक इस्राएलका राजा आहाबले रामोत-गिलादमाथि आक्रमण गर्ने विचार गरे । यहोशापातले आफ्नो संस्कृति वा चरित्र अनुसार आहाब राजालाई ४ पदमा भनेका छन् - “पहिले परमप्रभुसँग सल्‍लाह लिनुहोस्‌।” तर आहाबले कसबाट  सल्लाह लिने हो भन्ने कुरा पहिला नै मनमा विचार गरीसकेका थिए ।  ती थिए- ४०० जना अगमवक्ता- जसले सत्य होईन तर राजालाई खुशि पार्ने कुरा भन्दथे र राजा त्यसैमा प्रसन्न थिए । आजभोलि हाम्रो समाजमा पनि यसो हुने गर्दछ । मानिसलाई मन पर्ने कुरा भनिदियो भने उसले त्यसैलाई मन पराउँछ । हामी हरु प्राय साँचो कुरा भनेर अरुहरुलाई चित्त नदुखाउ भन्ने संस्कृतिमा जीवन गुजारीरहेकाछौं । ती ४०० जना अगमवक्ताले राजालाई खुशि पार्ने हेतुले उनलाई लडाईमा जान उक्साए । आज हाम्रो मण्डली र ख्रीष्ट्यन विश्वासमा पनि यस्तै अगमवक्ताहरु छैनन भन्न सक्दैनौं । हामीले अगमवक्ताको संदेशलाई अगमवक्ताको जीवनसँग दाजेर कहिल्यै हेरका हुदैनौं । कति जनाले त आफुले नदेखेको र नभेटको व्यक्तिलाई युट्युब र टिभिमा उसले भनेका अगमवाणी सुनेकै भरमा पुरै ध्यान त्यस व्यक्ति तर्फ लगाएका हुन्छौं । मित्रहरु, अगमवाणीहरु जीवनबाट पुष्टि भएको हुनुपर्छ । टिभि र युट्युबको अगमवाणि भन्दा समाज र संसारले नजानेका मिकाया जस्ता व्यक्ति जसको जीवनले वचन जीईरहेको हुन्छ, त्यसको आवाज सुन्नु आवश्यक छ । यद्दपी त्यसले हामीलाई किन नघोचोस् ।

 जे होस् । यहोशापातको सल्लाह मानेर राजा आहाबले मिकाया अगमवक्तालाई पनि बोलाउन लगाए । मिकाया अगमवक्ताले राजा आहाबले सोचे बमोजिम नै ४०० अगमवक्ताले भनेको भन्दा भिन्न अगमवाणी गरे - अर्थात इस्रायलको राजा त्यहाँ अवश्य मारिनेछ । सत्य अगमवाणी राजा आहाब र ती ४०० जना अगमवक्तलाई पचेन । सत्य बोलेकोमा मिकायाले के पाए ? २३ पदमा यसो लेखिएको छ- तब केनानका छोरा सिदकियाह माथि आएर मीकायाको मुखैमा थप्‍पड़ दिए । २५ र २६ मा लेखिएको छ – मिकाया लाई पक्र र कैदखानामा राख, र म कुशलसित नआउञ्‍जेल त्‍यसलाई रोटी र पानीबाहेक अरू केही नदेओ ।

मित्रहरु! यो समाजलाई आज सत्यको खाँचो छ । संसारलाई यो पच्दैन ।  कतै हामीलाई पनि पच्न छोडिसक्यो कि? आज मण्डलीको जिम्मेवारी पनि हो कि हामी सत्य र इमान्दारीताको संस्कृतिको सृजना र विकास गरौं । तर के हामी सत्य बोल्न हिच्किचाउछौ कि? एक पटक विचार गरौं ।

No comments: