यसै
प्रसङ्गमा नेपाली मण्डलीहरूमा हुने विवाहको अभ्यास र यसका तरिकाहरूलाई मुल्याङ्कन
गर्ने बेला भईसकेको छ। विवाह वास्तवमा प्रेम, करार
र नयाँ पारिवारिक जीवनको सुरुवात हो। तर आज यसको
बुझाई र अभ्यास अलि भिन्न भइसकेको छ। विवाहमा गरिने खर्च, आधुनिकताको प्रभाव, आकर्षक सजावट, र सामाजिक
प्रतिष्ठाको प्रतिस्पर्धाले विवाहको मर्म नै ओझेलमा परेको देखिन्छ। समस्या विवाहमा
होइन तर समस्या विवाहलाई मण्डलीमा कसरी र कुन प्रकारले अभ्यास गरीरहेका छौं भन्ने
सँग हो।यस बिषयको गहिराईलाई खोतल्दै जादाँ यसको शुरुवात “हामीसँग भएको श्रोतको मालिक वास्तवमा को हो” भनि बुझ्नु आवश्यक हुन्छ। कति पटक हामीले यसको गहिराईलाई
नबुझि “मसँग
छ”
भने मैले विवाहमा खर्च गर्नुमा के आपत्ति छ भन्ने सोच हुनसक्छ। तर मण्डलीमा सहभागी
भएका हामी सबैले यो पनि बुझ्नु पर्ने हुन्छ कि परमेश्वरले हामीलाई एक्लै ख्रीष्ट्यन
जीवन जीउन बोलाउनु (Individual Christian)
भएको होइन्। हामी सबै मण्डलीका ख्रीष्टयनहरू (church-christian)
हौ। त्यसैले मैले गर्ने निर्णयले आउने पुस्तालाई कसरी असर गर्छ भनेर सायद मण्डलीमा
सबैले ध्यान गर्नुपर्ने हुन्छ।त्यसैले विवाहमा कति पटक आफ्नो आर्थिक क्षमता नहुदा पनि खर्च
गर्ने मौन दबाबमा कति परिवारहरू हुनसक्छन्। अर्को तिर कति परिवारहरू श्रोत छ भने अरूलाई
प्रभावित पार्न खोज्ने समाजिक सोचको कैदमा पनि हुनसक्छन्। तसर्थ यस विषयमा मण्डलीका
अगुवाहरूले जिम्मवारी पुर्वक मण्डलीलाई सहायता गर्नु उपयुक्त हुन्छ।
केही
समयअघि मैले एउटा ख्रीष्टियन परिवारसँग भेटे, जसले आफ्नो विवाहको वास्तविकता मलाई
सुनाईरहनु भएको थियो। समाजमा आफ्नो इज्जत जोगाउन र अरूले गरेको जस्तै विवाह
गर्नुपर्ने “मौन” दबाबका कारण उक्त परिवारले आफ्नो आर्थिक
क्षमताभन्दा धेरै खर्च गर्नुभयो। विवाहको दिन आफन्त र पाहुनासँग खुसी साटासाट भयो, भोज-भतेर पनि भयो। तर विवाहको
दिनको खुसी सकिए पछि परिवारको जीवनमा ऋणको बोझले सताउन सुरु गर्यो। त्यस परिवारले
विवाहमा लिएको ऋणको सावाँ र ब्याज तिर्न मात्रै करीब ६ वर्ष बिताउनुपर्यो। विवाह
आफैमा परमेश्वरको आशिष हो तर आर्थिक क्रृणका कारण परिवारले आशिषको अनुभव गर्न पाएन।
यो एउटा परिवारको अनुभव मात्र होइन। यो त वर्तमान अवस्थामा नेपाली ख्रीष्ट्यन
परीवारहरूका संघर्ष र चुनौतिहरू हुन् र जसको बारेमा नेपालको मण्डलीले स्पष्ट
रणनिती तयार गर्न नसकेको अवस्था देखिएकोछ।
बाइबलले
विवाहलाई परमेश्वरले दिनुभएको सुन्दर सम्बन्धका रूपमा प्रस्तुत गर्छ।(एफिसी ५) तर
विवाहको नाममा परिवारलाई वर्षौंसम्म ऋणको बोझ बोकाउनु यसको उद्देश्य हुनै सक्दैन।
विवाहको वास्तविक महत्त्व खर्चको आकारमा होइन, दुई व्यक्तिले परमेश्वर र
एकअर्कासामु गरेको करारमा हुन्छ। महँगा विवाहले सबैभन्दा बढी असर आफ्नो आर्थिक
अवस्था कमजोर भएका परिवारलाई पार्छ। सम्पन्न परिवारले लाखौँ रुपैयाँ खर्च गरेर
विवाह आयोजना गर्न सक्छ। तर त्यही शैलीलाई समाज र मण्डलीले विवाहको सामान्य
मापदण्ड बन्न थाल्यो भने मध्यमवर्गीय र न्यून आय भएका परिवार पनि त्यसैअनुसार
चल्नुपर्ने मौन दबाबमा पर्ने संभवाना हुनसक्छ। उनीहरूको मनमा प्रश्न उठ्न थाल्छ, “अरूले
यति ठूलो विवाह गरे,
हामीले साधारण रूपमा गर्दा मानिसहरूले के भन्लान्? छोरा-छोरीको विवाहमा खर्च गर्न
नसक्दा हाम्रो इज्जत घट्छ कि?
मण्डलीका अगुवा र आफन्तले हामीलाई कसरी हेर्लान्?” यही डरले मानिसलाई आफ्नो
क्षमताभन्दा बढी खर्च गर्न मौन दवाव पर्नसक्छ। अझ दुःखको कुरा, विवाहमा
कसले कति खर्च गर्यो,
कस्तो भोजघरमा कार्यक्रम गर्यो र कति मानिसलाई भोज खुवायो भन्ने आधारमा
सामाजिक प्रतिष्ठा मापन हुन थाल्छ। यी सबै हाम्रै समाजका रिती भित्रका कुराहरू हुन्। तसर्थ मण्डली अगुवापनले यो सोचलाई वचनको धरातलमा
रहेर मण्डलीलाई होशियारी साथ चुनौती दिनुपर्ने हुन्छ। तर सम्पन्न परिवारको
तडकभडकलाई खुलेर प्रशंसा गर्ने र सामान्य विवाह गर्ने परिवारको अवस्थाप्रति
बेवास्ता गर्ने हो भने मण्डली आफैँले पनि यथास्थीतिवादलाई नै बढावा दिइरहेको
हुन्छ।
के विवाहको तडकभडक रोक्न सकिँदैन?
विवाह
र अन्य सामाजिक संस्कारमा हुने अनावश्यक खर्च आजको मात्र समस्या होइन। विभिन्न
समाजमा विवाह,
भोज र अन्त्येष्टिजस्ता अवसरमा सामाजिक प्रतिष्ठा जोगाउन वा अरूको देखासिकी
गर्न आफ्नो क्षमताभन्दा बढी खर्च गर्ने प्रवृत्ति देखिँदै आएको छ। यस्तो व्यवहारले
विशेष गरी आर्थिक रूपमा कमजोर परिवारलाई ऋणको बोझमा पार्न सक्छ।अर्थशास्त्री
अभिजित बेनर्जी र एस्थर डफ्लोले आफ्नो चर्चित पुस्तक “गरिब अर्थशाष्त्र” मा सामाजिक संस्कार र आर्थिक व्यवहारबीचको
सम्बन्धबारे चर्चा गरेका छन्। मानिसहरूलाई आर्थिक रूपमा कठिन अवस्थामा पुर्याउने
सामाजिक रितीहरूलाई केवल व्यक्तिगत निर्णय भनि वेवस्ता गर्दा यसको प्रभाव समुदायमा
नै पर्छ। विवाहमा अरूले गरेजस्तै खर्च गर्नुपर्ने सामाजिक दबाबले मानिसलाई आफ्नो
वास्तविक आर्थिक अवस्थाभन्दा बाहिर गएर निर्णय गर्न उक्साउन सक्छ। यसैले विवाहको
तडकभडक घटाउन परिवार र मण्डलीलाई उपदेश दिनु मात्र पर्याप्त हुँदैन। सामाजिक
संस्कारमा हुने खर्चलाई नियन्त्रण गर्न विभिन्न समाजमा कानुनी तथा सामुदायिक उपाय
अपनाइएका ऐतिहासिक उदाहरणहरू पनि पाइन्छन्। उदाहरणका लागि, दक्षिण
अफ्रिकाको मण्डली परिषद्ले अन्त्येष्टि कार्यमा अनावश्यक रूपमा धेरै खर्च नगर्न
केही नियमहरू बनायो, ताकि मण्डलीका सबै परिवारले समान रूपमा उक्त
कार्यमा सहभागी हुन सकून्। त्यसैले सामाजिक परिवेशको रूपान्तरण गर्न सामूहिक पहलको
आवश्यक पर्छ। नेपालका मण्डलीहरूले पनि यस विषयमा आफ्नै अभ्यास र नीतिबारे छलफल
गर्नुपर्ने हुन्छ। विवाहमा अनावश्यक खर्चलाई प्रतिष्ठाको मापदण्ड नबनाउने, ऋण
लिएर तडकभडक गर्नुपर्ने दबाब हटाउने र आर्थिक अवस्थाअनुसार सरल विवाह गर्न सकिने
वातावरण बनाउने दिशामा मण्डलीले नेतृत्व गर्न सक्छ।
ख्रीष्टियन
विश्वासको केन्द्रमा क्रुस छ। क्रुसले हामीलाई प्रेम, त्याग, सेवा
र अरूको भलाइ खोज्ने जीवनको बाटो देखाउँछ। तर हाम्रो विवाहमा कहिलेकाहीँ यी
मूल्यभन्दा बाहिरी प्रदर्शन र सामाजिक प्रतिष्ठाले बढी महत्त्व पाउन थालेको छ।ख्रीष्टियन
लेखक तथा धर्मशास्त्री जोन पाइपरले ख्रीष्टियन जीवनशैली, सुसमाचारको
प्राथमिकता र सांसारिक सुख-सुविधा प्रतिको हाम्रो दृष्टिकोणबारे लेख्दै आएका छन्।
उनको विचारसँग जोडेर हेर्दा,
मण्डलीले आफूलाई समाजसामु प्रस्तुत गर्ने तरिका र आफ्नो स्रोत-साधन प्रयोग
गर्ने प्राथमिकताबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। पुरानो करारको मन्दिर-केन्द्रित
धार्मिक जीवन र नयाँ करारमा ख्रीष्टका चेलाहरूलाई दिइएको सुसमाचार सुनाउने
जिम्मेवारी बीचको भिन्नताबारे पाइपरले प्रस्तुत गर्ने दृष्टिकोणले यहाँ
महत्त्वपूर्ण प्रश्न उठाउँछ। के हाम्रो समय, पैसा र स्रोतसाधन बाहिरी
प्रदर्शनमा बढी खर्च भइरहेको छ? वा यसले सुसमाचार सुनाउने, खाँचोमा
परेकाहरूलाई सहयोग गर्ने र मानिसहरूलाई सेवा गर्ने कामले पर्याप्त प्राथमिकता
पाएको छ? यस सन्दर्भमा “आऊ
र हेर” भन्ने
शैलीलाई बाहिरी वैभव र प्रदर्शनसँग जोडेर, “जाऊ र सुनाऊ” भन्ने शैलीलाई सुसमाचारको सेवासँग जोडेर बुझ्न सकिन्छ।
यो भिन्नता विवाहको खर्चबारे मात्र होइन, मण्डलीले आफ्नो जीवन र स्रोत-साधनलाई
कुन उद्देश्यका लागि प्रयोग गर्छ भन्ने विषयसँग पनि सम्बन्धित छ। यसको अर्थ
ख्रीष्टियनहरूले विवाहमा खुसी मनाउनु हुँदैन वा राम्रो समारोह आयोजना गर्नु गलत हो
भन्ने होइन। प्रश्न के हो भने,
विवाहको बाहिरी तामझामले त्यसको वास्तविक अर्थलाई ओझेलमा पारेको छ कि छैन? महँगो
भोजघर, सजावट
र भोजमा खर्च गर्नुलाई प्रतिष्ठाको मापदण्ड बनाउँदा विवाहको मुख्य उद्देश्य “परमेश्वरसामु गरिएको करार, दुई व्यक्तिको मिलन र
जिम्मेवारीपूर्ण पारिवारिक जीवन” पछाडि
पर्न सक्छ।
मण्डलीले
सरल विवाहलाई प्रोत्साहन गर्नुको अर्थ विवाहमा रमाइलो गर्नु हुन्न भन्ने होइन।
यसको अर्थ अनावश्यक प्रतिस्पर्धा हटाएर प्रेम, करार र जिम्मेवारीलाई केन्द्रमा
राख्नु हो। एउटा
परिवारले आफ्नो क्षमताभन्दा बढी रकम विवाहमा खर्च गर्दा त्यसको असर केवल ऋणमा
मात्र देखिँदैन। त्यो रकमले परिवार र समुदायको जीवनमा अरू धेरै सकारात्मक काम गर्न
सकिन्छ। त्यही रकम छोराछोरीको शिक्षामा लगानी गर्न, नयाँ दाम्पत्य जीवन सुरु गर्ने
जोडीलाई सानो व्यवसाय स्थापना गर्न सहयोग गर्न, घरभाडा वा स्वास्थ्य उपचारका
लागि बचत गर्न सकिन्छ। यसको अर्थ विवाहमा खर्च गर्नुको सट्टा सबै पैसा मण्डलीलाई
दिनुपर्छ भन्ने होइन। न त हरेक परिवारले आफ्नो विवाहको खर्च घटाएर निश्चित रकम दान
गर्नैपर्छ भन्ने हो। मुख्य कुरा भनेको परिवारले आफ्नो आर्थिक अवस्थालाई ध्यानमा
राखेर विवेकपूर्ण निर्णय गर्न सक्नु हो। यदि मण्डलीले सरल विवाहलाई प्रोत्साहन
गर्छ भने यसले नयाँ दाम्पत्य जीवन सुरु गर्ने जोडीलाई ऋणको बोझबाट जोगाउन मद्दत
गर्न सक्छ।
मण्डलीको नेतृत्व किन मौन छ?
यस
विषयमा सबैभन्दा गम्भीर प्रश्न मण्डलीको नेतृत्वतर्फ जान्छ। मण्डलीका पास्टर र
अगुवाहरूले विवाहपूर्व परामर्श दिनुपर्ने हो। तर नेपाली मण्डलीमा यसको अभ्यास अहिलेसम्म
न्युन छ।यसबारे नेपाली मण्डली संवेनशिल हुनु आवश्यक छ। वैवाहिक जीवनका जिम्मेवारी बारे
सिकाउने र परमेश्वरको अगाडिको करार सिकाउदै गर्दा विवाहको तयारीकै क्रममा परिवार
आर्थिक दबाबमा परेको छ कि छैन भन्ने प्रश्नलाई महत्त्व दिनु पनि उत्तिकै आवश्यक हुन्छ।
कुनै परिवारले ऋण लिएर भव्य विवाह आयोजना गर्न लागेको छ भने नेतृत्वले त्यसबारे
संवेदनशीलताका साथ मण्डलीका परीवारहरूलाई शिक्षा दिनु आवश्यक हुन्छ। विवाहको
भव्यताका आधारमा परिवारको प्रशंसा गर्ने र साधारण विवाह गर्ने परिवारलाई कम
महत्त्व दिने व्यवहारले मण्डली भित्रै वर्गीय भेदभाव बढाउन सक्छ। यस विषयलाई आउने युवाहरूको
दृष्टिकोणबाट पनि हेर्न आवश्यक छ। आजका युवाहरू विवाहलाई आफ्नो जीवनको
महत्त्वपूर्ण निर्णयका रूपमा हेर्छन्। उनीहरू आफ्नो जीवनसाथी छनोट गर्न, भविष्यको
योजना बनाउन र स्वतन्त्र रूपमा जीवन सुरु गर्न चाहन्छन्।तर विवाहको तयारी गर्दा
अनावश्यक खर्च,
सामाजिक प्रतिस्पर्धा र अरूका अपेक्षा पूरा गर्नुपर्ने मौन दबाब सामना गर्नु
पर्यो भने उनीहरू निराश हुने संभावना हुनसक्छ। कतिपय युवाले मण्डलीको आर्थिक
दबाबबाट बच्न कानुनी रूपमा विवाह गरेर पछि मण्डलीमा आशीर्वाद लिन आउने बाटो रोज्न
सक्छन्। यो वास्तवमा उनीहरूको रहर भन्दा पनि वाध्यता बन्न सक्छ।यसको बारेमा कसले
जिम्मेवारी लिने? त्यसैले विवाहको तयारीमा अनावश्यक खर्च र सामाजिक दबाब कम गर्न
मण्डलीले सहयोग गर्नुपर्छ। युवाहरूलाई सरल विवाहको विकल्प दिनु, विवाहपूर्व
परामर्शलाई व्यावहारिक बनाउनु र आर्थिक योजना बनाउन सिकाउनु आवश्यक छ।

No comments:
Post a Comment