१. परमेश्वरको बुद्धिको प्रभाव सबैका
लागि (इस्राएली र गैर इस्राएली)
इस्राएलका राजा सोलोमन परमेश्वरबाट
असाधारण बुद्धि पाएका व्यक्ति थिए जसको चर्चा हामी हितोपदेश १-२९ सम्म हेर्छौं। (तिन हजार हितोपदेश, एक हचार पाँच गीतहरू- १ राजाहरू ४:३२)
तर जीवनको अर्को पक्ष पनि हामीले बिर्सनु हुँदैन। बुद्धि पाउनु एउटा कुरा हो,
तर त्यो बुद्धिअनुसार जीवन जिउनु अर्को पक्ष हो। हितोपदेश
३१ मा भने हामी अर्को राजाको कथा भेट्छौँ -राजा लमुएल। उनी इस्राएली राजा थिएनन्।
तर उनले आफ्नी आमाबाट परमेश्वरको भय र बुद्धिसँग सम्बन्धित शिक्षा पाए। यहाँ एउटा
गहिरो कुरा देखिन्छ। सोलोमनले परमेश्वरबाट बुद्धि पाए तर त्यसलाई प्रयोग गर्न चुके;
लमुएलले परिवारबाट बुद्धि सिके, तर उनले त्यसलाई जीवनमा
प्रयोग गरे। लमुएलकी आमाले आफ्ना छोरालाई कस्तो राजा बन्ने,
कसरी जीवन जिउने, कसरी
मानिसलाई हेर्ने र कसरी आफ्नो घर चलाउने भन्ने कुरा सिकाइन्। त्यसैले आज हामी
आफैँलाई एउटा प्रश्न सोध्न सक्छौँ! हाम्रो घरमा कस्तो बुद्धिको चर्चा भइरहेको छ?
हाम्रा छोराछोरीले हामीबाट के सिकिरहेका छन्?
उनीहरूले हामीबाट केवल पढाइ, पैसा,
सम्पत्ति र सफलता
सिकिरहेका छन् कि परमेश्वरको भय, सत्य,
न्याय, प्रेम,
जिम्मेवारी र सही जीवन जिउने बुद्धि पनि सिकिरहेका छन्?
२. परिवारबाट आउने बुद्धिको प्रभाव
हामी यस्तो समाजमा बाँचिरहेका छौँ जहाँ शिक्षा, परिवार, नैतिक मूल्य-मान्यता र सामाजिक जिम्मेवारीका क्षेत्रमा चुनौतिहरू बढीरहेका छन्। भ्रष्टाचार, भौतिक प्रतिस्पर्धा, पारिवारिक बिछोड र प्रविधिको बढ्दो प्रभावले हाम्रो समाजलाई छताछुल्ल पारिरहेकोछ। यसका प्रभावहरू मण्डलीमा परेको छैन भन्न सकिने अवस्था छैन। यस्तो अवस्थामा एउटा महत्वपूर्ण प्रश्न उठ्छ कि हाम्रा घरहरूले हाम्रा सन्तानलाई कस्तो बुद्धि दिइरहेका छन्? बालबालिकाहरूको शुरुवाती वर्षहरूमा (जन्म-१२ वर्ष) आफ्नै घर र अभिभावकको प्रभावमा हुर्किरहेका हुन्छन्। त्यसपछि विद्यालय, साथीहरूको प्रभावहरू (१३-१८ वर्ष) , समाज, संस्कृति (१९-२५वर्ष) देखिन थाल्छन्। यसकारण सन्तानको जीवनमा घर नै पहिलो पाठशाला हो भने अभिभावकहरू उनीहरूका पहिला शिक्षक हुन्। हाम्रा छोराछोरीले विद्यालय वा मण्डलीबाट मात्र सिकिरहेका छैनन्। उनीहरूले सामाजिक सञ्जाल, एआई र विभिन्न डिजिटल माध्यमबाट हरेक दिन असंख्य कुरा सिकिरहेका छन्। यसले एउटा नयाँ प्रश्न जन्माएको छ कि यदि अभिभावकहरूले आफ्ना सन्तानलाई बुद्धि दिन छाडे भने उनीहरूलाई बुद्धि कसले दिनेछ? कतिपटक अभिभावक घरमै भए पनि उनीहरू आफ्नै घरमा नभएको अवस्था हुन्छ। शरीर घरमा हुन्छ, तर समय मोबाइलमा हुन्छ; ध्यान काममा हुन्छ; मन सामाजिक सञ्जालमा हुन्छ। यस्तो अवस्थामा हाम्रा सन्तानले आफ्नो जीवनका महत्वपूर्ण प्रश्नहरूको उत्तर कहाँबाट खोजिरहेका छन्? यही सन्दर्भमा हितोपदेश ३१ मा लमुएल र उनकी आमाको सम्बन्ध अत्यन्त महत्वपूर्ण देखिन्छ। राजा लमुएलले आफ्नी आमाबाट पाएको शिक्षा उनको जीवन र नेतृत्वमा प्रभाव पार्ने बुद्धिको स्रोत बनेको देखिन्छ। यसैले प्रश्न केवल यो होइन कि हामी आफ्ना छोराछोरीलाई के दिएर जाँदैछौँ? प्रश्न यो पनि हो कि हामी आफ्ना छोराछोरीको मनमा कस्तो बुद्धि छोडेर जाँदैछौँ?
3.लमुएलको शिक्षामा देखिने बुद्धिमानी स्त्री
हितोपदेश संकलन गर्नेले किन हितोपदेशको अन्त्य बुद्धिमान स्त्रीको चित्रणका साथ गरेका होलान्? राजा सलोमनको अन्तिम समयमा उनको जीवनमा स्त्रीहरूको प्रभावका साथै हितोपदेश ३१ ले अगुवापनलाई दिएको चुनौतिलाई विचार गर्नु आवश्यक छ। परमेश्वरको राज्यको बृहत तस्विरलाई कसरी हितोपदेश ३१ ले परीवारमा ल्याएर जोडिरहेको छ? राजा लमुएलकी आमाले आफ्ना छोरालाई असल पत्नी, असल परिवार र असल जीवनको अर्थ बुझाउँदै गर्दा केवल बाहिरी सौन्दर्यको कुरा गर्दिनन्। हितोपदेश ३१:१०-१२ मा उनी मूल्यको कुरा गर्छिन्। त्यहाँ असल स्त्रीलाई बहुमूल्य रत्नभन्दा पनि मूल्यवान् भनेर चित्रण गरिएको छ। उनका पतिले उनीमाथि भरोसा गर्छन्,
र उनले आफ्नो जीवनसाथीलाई हानि होइन, भलाइ गर्छिन्।त्यसपछि उनको परिश्रम र सीपको चर्चा आउँछ। उनी आफ्ना हातले उत्साहपूर्वक काम गर्छिन्। उनी केवल घरभित्र बसेर अरूको भरमा रहने व्यक्ति होइनन्; उनी आफ्नो क्षमता प्रयोग गर्छिन्। त्यसपछि उनको दूरदृष्टि र व्यवस्थापन क्षमता देखिन्छ। उनी सोचविचार गर्छिन्, खेत किन्छिन्, त्यसमा लगानी गर्छिन् र आफ्नो परिश्रमबाट आम्दानी गर्छिन्। अर्थात् उनी केवल वर्तमानमा बाँच्ने होइन, भविष्यको बारेमा पनि सोच्ने स्त्री हुन्। त्यसपछि उनको उदारता देखिन्छ। उनी आफ्नो घर र परिवारमा मात्र सीमित हुँदिनन्। गरिब र आवश्यकतामा परेकाहरूलाई पनि आफ्नो हात फैलाउँछिन्। त्यसपछि उनको प्रतिष्ठा र प्रभावको कुरा आउँछ। उनको जीवनका कारण उनका पति पनि सम्मानित हुन्छन्। उनको चरित्रले उनको परिवारलाई पनि प्रभाव पार्छ। तर अन्तमा सबैभन्दा महत्वपूर्ण कुरा के हो? उनको मुखबाट निस्कने वचन। उनको बुद्धि उनको व्यवहारमा देखिन्छ, उनको परिवारमा देखिन्छ, उनको परिश्रममा देखिन्छ, गरिबप्रतिको व्यवहारमा देखिन्छ र अन्ततः उनको बुद्धि उनको बोलीमा सुनिन्छ। किनकि यदि घरमा बुद्धिको चर्चा हुँदैन भने मण्डलीले मात्र बुद्धिमानी पुस्ता निर्माण गर्न सक्दैन। मण्डलीले शनिबार केही घण्टा शिक्षा दिन सक्छ, तर घरले हरेक दिन शिक्षा दिन्छ। मण्डलीले वचन सुनाउन सक्छ, तर घरले त्योवचन जीवनमा कसरी बाँच्ने भनेर देखाउनुपर्छ। मण्डलीले परमेश्वरबारे सिकाउन सक्छ, तर अभिभावकको जीवनले सन्तानलाई परमेश्वरसँग कसरी जिउने भनेर देखाउनुपर्छ।
त्यसैले हितोपदेश ३१ को सन्देश आज केवल
महिलाहरूका लागि होइन। यो आमाबाबुका लागि हो, परिवारका
लागि हो, नेतृत्वका लागि हो,
र सम्पूर्ण मण्डलीका लागि हो। अन्ततः परमेश्वरको बुद्धि
पुस्तकमा मात्र रहनु हुँदैन। बुद्धि घरमा बोलिनुपर्छ,
व्यवहारमा देखिनुपर्छ, सन्तानमा
सर्नुपर्छ र मण्डलीको जीवनमा अभ्यास हुनुपर्छ।
परमेश्वरको वचनले हामी सबै मण्डलीलाई
उहाँको राज्यको चरित्रमा जीउन अनुग्रह गर्नुभको होस्।

No comments:
Post a Comment