तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
लामो समयदेखि पास्टर/अगुवाहरूले युवा संगतिका लागि दिन-रात खटिरहनुभएको
छ। कहिले तीन दिने क्याम्पका लागि आवश्यक सामग्रीको व्यवस्था गर्नुपरको छ, कहिले हामी बस्ने विद्यालयमा
बिजुलीको व्यवस्था मिलाउनुपरेकोछ त कहिले टेन्ट र अन्य आवश्यक सामग्री जुटाउनु परेको
छ। सायद बेलुका दिनभरिका काम सकेर बस्दा उहाँहरूले एउटा कुरा सोच्नुहुन्छ होला, “हामीले यति धेरै मेहनत गरेर आयोजना
गरेको यो क्याम्पबाट हाम्रा भाइबहिनीहरूले के सिक्नेछन्? उनीहरूको जीवनमा कस्तो परिवर्तन
आउनेछ?” उहाँहरूले
गर्नुभएको यो लगानीले हाम्रा जीवनमा केही रूपान्तरण ल्याएको होस् भन्ने प्रार्थना
र विश्वासका साथ १ पत्रूस २ :९-१० बाट केहि कुरा लेख्न चाहे। परमेश्वरले आज तपाईं
र मसँग के कुरा गर्न चाहनुहुन्छ? हामी यहाँबाट फर्किएपछि हाम्रो जीवनमा के परिवर्तन हुनेछ?
१. हाम्रो पहिचान (Identity)
पत्रुसले यो पत्र लेख्दा एसिया माइनरका विभिन्न ठाउँमा छरिएर रहेका
ख्रीष्टमा विश्वास गर्ने मानिसहरूलाई सम्बोधन गरिरहेका थिए। पत्रको सुरुवातमै उनले
उनीहरूलाई “निर्वासित भई छरपष्ट भएकाहरू... तर पनि परमेश्वरबाट चुनिएकाहरू” भनि सम्बोधन
गरेका छन् (१ पत्रुस १:१)। यी ख्रीष्ट-विश्वासीहरू आफ्नो समाजमा अनेकौँ कठिनाइ र
चुनौतीको सामना गरिरहेका थिए। ख्रीष्टमाथिको विश्वासका कारण उनीहरूले रोमी समाजको
दबाब, अपमान र
दुःख भोग्नुपरेको थियो। यस्तो अवस्थामा उनीहरूलाई एउटा महत्त्वपूर्ण कुरा बुझ्नु
आवश्यक थियो। त्यो हो, उनीहरू वास्तवमा को थिए? यही कुरा हामी १ पत्रुसको दोस्रो अध्यायमा देख्छौँ। दोस्रो
अध्यायको सुरुदेखि नै पत्रुसले उनीहरूको जीवन र विश्वासबारे व्याख्या गर्दै आएका
छन्। अन्ततः ९ पदमा उनी भन्छन्, “तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ।”
यहाँ पत्रुसले प्रयोग गरेका शब्दहरू पुरानो करारको पृष्ठभूमिबाट आएका
हुन्। विशेषगरी प्रस्थान १९:५–६ मा परमेश्वरले इस्राएलीहरूलाई आफ्नो विशेष प्रजा, पूजाहारीहरूको राज्य र पवित्र जाति
बनाउने प्रतिज्ञा गर्नुभएको थियो। इस्राएलीहरू मिश्रको दासत्वबाट छुटकारा पाएपछि
परमेश्वरले उनीहरूलाई आफ्नो प्रजाका रूपमा स्थापित गर्नुभयो। पुरानो करारमा पनि
इस्राएलीहरूको पहिचान उनीहरूको सामाजिक हैसियत, आर्थिक अवस्था वा अन्य जातिहरूसँगको तुलनामा आधारित थिएन।
उनीहरू परमेश्वरले चुन्नुभएको र आफ्नो निम्ति अलग गर्नुभएको जाति थिए।
अब पत्रुसले यही पुरानो करारको भाषालाई ख्रीष्टमा विश्वास गर्ने नयाँ
समुदायको पहिचान बताउन प्रयोग गरेका छन्। यो समुदाय मिश्रित छ कोहि यहूदीमत
मान्नेहरूबाट ख्रीष्टमा आएका छन त केहि युनान दर्शन मान्नेहरू ख्रीष्टमा आएकाछन्। अचानक रोमको शासनको सतावटमा भर्खरै हुर्केदै
गरेको मण्डलीले कसरी आफ्नो पहिचान खोज्छ? सायद कति जना विश्वासको दौडमा लडबडाउने
अवस्था आएको हुनुपर्छ। रोमको नागरिकता र यहुदीहरूको मंदिरमा पहिचान खोज्नेहरूले अब
विश्वासमा कसरी आफ्नो पहिचान खोज्छन होला? पत्रूसको यसको बारेमा १ पत्रूसमा चर्चा
गर्छन। यसैकुरालाई पत्रुसले यसभन्दा
अगाडिको पदमा विश्वासको जग न त रोमको नागरिकताको घमण्ड न त यहुदीहरू मन्दिर तर ख्रीष्ट स्वयं विश्वासको कुनढुङ्गो हुनुहुन्छ र
उहाँमा विश्वास गर्नेहरू जीवित ढुङ्गाका रूपमा आत्मिक घर निर्माण हुँदैछन् भन्दै १
पत्रुस २:४–५ मा उल्लेख गरेका छन्। भाइबहिनीहरू,
अब एउटा प्रश्न आफैँलाई सोधौँ। हामी आज
आफ्नो पहिचानलाई कसरी हेर्छौँ? हामी कहाँ जन्मियौँ? कस्तो परिवारमा हुर्कियौँ? हाम्रो आर्थिक अवस्था कस्तो छ? समाजमा हाम्रो स्थान के छ? हामी कुन विद्यालय वा
विश्वविद्यालयमा पढ्छौँ? यी कुराले हाम्रो जीवनको बाहिरी परिचय दिन सक्छन्, तर हाम्रो वास्तविक पहिचान
बताउँदैनन्।
पत्रुसले निराशामा हुर्किएका र समाजबाट अपमान तथा सतावट भोगिरहेका
ख्रीष्ट-विश्वासीहरूलाई यसै अध्यायको ४ पदमा ख्रीष्ट येशूतिर हेर्न उत्साहित
गर्छन्। येशूलाई मानिसहरूले इन्कार गरे, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य
हुनुहुन्छ। आज ख्रीष्टमा विश्वास गर्नेहरूलाई पनि उहाँले नयाँ पहिचान दिनुभएको छ।
त्यसैले ख्रीष्टमा नै हाम्रो वास्तविक पहिचान झल्किन्छ। उहाँले हामीलाई चुन्नुभएको
छ, आफ्नो
प्रजा बनाउनुभएको छ र आफ्नो सेवाका लागि बोलाउनुभएको छ।
आउनुहोस्, एकजना व्यक्तिको जीवन हेरौँ। उनले कसरी आफ्नो जीवनको वास्तविक उद्देश्य
र पहिचान भेट्टाए?
सन् १८३२ मा इङ्गल्यान्डको योर्कशायरस्थित बार्न्स्लीमा एक बालकको जन्म
भएको थियो। सानैदेखि उनका परिवारले उनलाई परमेश्वरको सेवाप्रति उत्साहित गराउँथे।
उनको नाम थियो, हडसन टेलर। १७ वर्षको उमेरमै उनले चीनमा गएर परमेश्वरको सेवा गर्ने
निर्णय गरे। त्यसपछि उनले चिकित्सा अध्ययन गरे र सन् १८५३ मा २१ वर्षको उमेरमा
चीनतर्फ प्रस्थान गरे। उनी सन् १८५४ मा चीनको साङ्घाई पुगे। उनको उद्देश्य चीनका
मानिसहरूमाझ येशू ख्रीष्टको सुसमाचार पुर्याउनु थियो।
के उनको पहिचान केवल एउटा चिकित्सक हुनुमा सीमित थियो? के उनको पहिचान उनको पारिवारिक
पृष्ठभूमि वा उनी कुन देशका नागरिक थिए भन्ने कुराले मात्र निर्धारण गरेको थियो? पक्कै पनि थिएन! उनले आफ्नो जीवन
ख्रीष्टको सेवाका लागि समर्पण गरे। ख्रीष्टको सेवक हुनु नै उनको जीवनको मुख्य
पहिचान बन्यो। उनले चीनको भित्री भूभागसम्म सुसमाचार पुर्याउने कामलाई आफ्नो
जीवनको उद्देश्य बनाए। उनले सन् १८६५ मा स्थापना गरेको मिसनरी संस्था पछि चाइना
इनल्यान्ड मिसनका रूपमा विस्तार भयो। आज हामी यस संस्थालाई ओएमएफ इन्टरनेसनलका
रूपमा चिन्छौँ र जसबाट हजरौ व्यक्तिहरू मिशनरीको रूपमा नेपाल लगाएत विश्वभरी नै
सेवा गर्छन्। भाई बहिनीहरू, तिनी हडसनले यसो भन्छन- “यदि परमेश्वरको काम परमेश्वरको तरीकाले
गर्यौ भने परमेश्वरको श्रोत कहिल्यै अन्त्य हुदैन।“ हडसन टेलरको जीवनले हामीलाई एउटा
महत्त्वपूर्ण कुरा सिकाउँछ। हाम्रो पहिचान हामी कहाँ जन्मियौँ वा हामीसँग के छ
भन्ने कुराले मात्र निर्धारण गर्दैन। ख्रीष्टले हामीलाई दिनुभएको बोलावट र
उद्देश्यले हाम्रो जीवनको दिशा निर्धारण गर्नुपर्छ।
त्यसैले आज यो युवा क्याम्पमा आएका हामी सबैले आफैँलाई एउटा प्रश्न
सोध्नुपर्छ, “म वास्तवमा को हुँ?” म केवल विद्यार्थी हुँ? म राम्रो सरकारी जागिर गर्दैछु र कहिलेकाहीँ मण्डलीमा पनि सेवा गरिरहेको
छु? कि म
परमेश्वरले चुन्नुभएको, उहाँको आफ्नै प्रजा र उहाँको सेवा गर्न बोलाइएको व्यक्ति हुँ?
पत्रुसको
जवाफ स्पष्ट छ। तिमीहरू चुनिएका वंश हौ। राजकीय पूजाहारीगिरी हौ। पवित्र जाति हौ।
परमेश्वरका निजी प्रजा हौ। अब प्रश्न हाम्रो पहिचानको मात्र होइन। यस्तो ख्रीष्टमा
पहिचान पाएका हामीले भोलि के गर्नेछौँ?
२. उहाँका महान् कार्यहरूको घोषणा गर्ने (Responsibility)
उहाँका महान् कार्यहरूको घोषणा गर्नु भनेको के हो? परमेश्वरले हामीलाई ज्योतिमा किन
ल्याउनुभयो? हामी ज्योतिमा आउनुको कारण नै उहाँका महान् कार्यहरूको घोषणा गर्न सकौँ
भनेर हो भन्ने कुरा पद ९ मा उल्लेख गरिएको छ। यस प्रसङ्गले हाम्रो पहिचानलाई
हाम्रो जिम्मेवारीसँग जोडेको छ।
नेपाली मण्डलीमा एउटा ठूलो गलत बुझाइ छ। सेवा गर्ने भनेको मण्डलीका
पाष्टर र अगुवाहरूले मात्र हो, अरूले होइन भन्ने सोच छ। यो परमेश्वरको सोचभन्दा पनि हाम्रो समाजको
धार्मिक सोच हो। हामी कुनै धार्मिक सोचले होईन तर ख्रीष्टको राज्यको सोचले
बोलाईएकाहरू हौं। परमेश्वरको राज्यमा तपाईं र हामी सबै राजकीय पूजाहारी हौँ।
सन् १९३६ मा लिली ओ’हेन्लेन र हिल्डा स्टील इङ्गल्यान्डबाट भारतको
नौतन्वा आएर नेपालीहरूका बीचमा चिकित्सा सेवा गर्न थाले। उनीहरूले नेपालमा प्रवेश
गर्न पाउने दिनको प्रतीक्षा गर्दै बोर्डरमा रहेका नेपालीहरूको सेवा गरे। सन् १९५२
मा नेपाल सुसमाचारको निम्ति खुला भएपछि उनीहरू नेपाली सहकर्मीहरूसहित पोखरा प्रवेश
गरे र त्यहाँ सेवा सुरु गरे। यही सेवाकार्य पछि इन्टरनेसनल नेपाल फेलोशिप (INF) का रूपमा विस्तार भयो। उनीहरूलाई
यस सेवाकार्यमा लाग्न के कुराले प्रेरित गर्यो?
ख्रीष्टमा पाएको ज्योतिले नै उनीहरूलाई
परमेश्वरका महान् कार्यहरूको घोषणा गर्न उत्साहित गरेको थियो।
सन् १७९३मा आजैकै दिनका दिन अर्थात नोभेम्बर ११ मा इङ्गल्यान्डबाट
भारतको बंगालमा एकजना व्यक्ति आइपुगेका थिए। उनको नाम थियो, विलियम केरी। उनले भारतमा आएर
त्यहाँका मानिसहरूका बीचमा परमेश्वरका महान् कार्यहरूको घोषणा गरे। साथै, भाषा, साहित्य, शिक्षा र सामाजिक सुधारका
क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याए। आज हामी उनलाई आधुनिक मिसनका पिता
भनेर चिन्छौँ।
ख्रीष्टको ज्योतिले उनलाई चुप लागेर बस्न दिएन। उनले आफ्ना
सहकर्मीहरूसँग मिलेर विभिन्न भाषामा बाइबल अनुवाद गर्ने काममा महत्त्वपूर्ण योगदान
पुर्याए। उनी र उनका सहकर्मीहरूले धेरै भाषामा बाइबल अनुवाद गरे। उनले सती
प्रथाको विरोध गरे र यसको अन्त्यका लागि ब्रिटिश सरकारसमक्ष पहल गरे। नेपाली
बाइबलको इतिहासमा पनि उनको महत्त्वपूर्ण योगदान छ। सेरामपुरका मिसनरीहरूले नेपाली
नयाँ करारको अनुवाद सन् १८२१ मा प्रकाशित गरेका थिए। यस अनुवादको काममा विलियम
केरीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। विलियम केरीले आफ्नो जीवनबाट
परमेश्वरका महान् कार्यहरूको घोषणा गरे। उनको सेवाले भाषा, साहित्य, शिक्षा र समाजमा महत्त्वपूर्ण
प्रभाव पार्यो।
3. आज कसरी ख्रीष्टको ज्योतिलाई बुझ्ने (Understanding the word)
भाइबहिनीहरू हो, अन्त्यमा परमेश्वरको वचनले हामीलाई हाम्रो इतिहासलाई वर्तमानको
सन्दर्भमा हेर्न सहायता गर्छ। परमेश्वरको वचन बुझ्नु र त्यसको अर्थलाई आजको समाजमा
लागू गर्नु आवश्यक छ। यदि हामीले वचन नै बुझेनौँ भने त्यसलाई कसरी आफ्नो जीवन र
समाजमा लागू गर्ने?
परमेश्वरको वचन अर्थात् बाइबल कुनै मन्त्र होइन। यदि यो स्वर्गबाट झरेको
मन्त्र भएको भए, केही व्यक्तिलाई मात्र सुटुक्कै सिकाउनुपर्ने हुन्थ्यो। तर बाइबल
परमेश्वरको प्रेरणाबाट लेखिएको वचन हो। यसलाई बुझ्नका लागि कसले, कसलाई, कहाँ र कुन सन्दर्भमा के सन्देश
दिन लेखेको हो भन्ने कुरा विचार गर्नुपर्छ। उदाहरणका लागि, मोशाले प्राचीन इस्राएलीहरूलाई
उजाडस्थानमा परमेश्वर यहोवा नै एक मात्र सत्य परमेश्वर हुनुहुन्छ भन्ने सन्देश दिन
लेखेका थिए।
बाइबलका पुस्तकहरू लेखिँदा तिनका मूल पाठकहरू हामी थिएनौँ। ती पुस्तकहरू
कुनै खास समय र परिस्थितिमा रहेका मानिसहरू वा समुदायलाई सम्बोधन गरेर लेखिएका
थिए। त्यसैले पहिले ती पुस्तकहरूले आफ्ना मूल पाठकहरूलाई के सन्देश दिएका थिए
भन्ने कुरा बुझ्नुपर्छ। त्यसपछि त्यस सन्देशको अर्थ बुझेर आज हाम्रो जीवन र
मण्डलीमा कसरी लागू गर्ने भन्ने कुरा विचार गर्नुपर्छ। यही सन्देश आज मण्डलीका
लागि ज्योति हो, जसलाई हामीले आफ्ना मानिसहरूका बीचमा घोषणा गर्नुपर्छ। यदि हामीले यो
कुरा बुझेनौँ भने बाइबलको सन्देशलाई त्यसको सही अर्थ नबुझी जस्ताको तस्तै अरूलाई
सुनाएर उनीहरूका लागि बोझ बनाउन सक्छौँ।
परमेश्वरले तपाईंहरूलाई ख्रीष्टमा पाउनुभएको आफ्नो पहिचान बुझ्न र
उहाँका महान् कार्यहरूको घोषणा गर्न सहायता गर्नुभएको होस्।
No comments:
Post a Comment