Tuesday, November 10, 2026

शिक्षा

 के तपाईंलाई थाहा छ? आज तपाईं-हामीले परमेश्वरको वचन पढ्न र लेख्ने अवसर पाउनुको पछाडि १६औँ शताब्दीमा युरोपमा सुरु भएको एउटा ऐतिहासिक प्रोटेस्टेन्ट सुधार आन्दोलनको (protestant reformation) ठूलो योगदान छ। करिब ५०० वर्षअघि युरोपमा माछा मार्ने माझी, भेडा चराउने गोठाला वा काठको काम गर्ने सिकर्मीका छोराछोरीले विद्यालय गएर पढ्ने अवसर पाउँदैनथे। त्यसबेला शिक्षा मुख्यतः ल्याटिन भाषामा दिइन्थ्यो। विशेषगरी चर्चमा सेवा गर्न चाहने व्यक्तिहरूले मात्र यस्तो शिक्षा पाउँथे। जसरी नेपालमा पनि सन् १९५० वा त्यो भन्दा अगाडी केवल राजा र राणाहरूको निम्ति मात्र शिक्षाको पहुच थियो। त्यस पछि पनि शिक्षा संस्कृत भाषामा सिमित थियो।

 प्रोटेस्टेन्ट सुधारले शिक्षालाई सीमित उच्च वर्गको पहुँचबाट निकालेर सर्वसाधारण मानिसहरू सम्म पुर्‍यायो। किन? किनभने बाइबलले अज्ञानता र छलकपटलाई शैतानको राज्यसँग जोडेर देखाउँछ (प्रकाश २०)। तर परमेश्वर सबै मानिसले उद्धार पाऊन् र सत्यको ज्ञानमा आऊन् भन्ने चाहनुहुन्छ (१ तिमोथी २:४)। युरोपको समाजमा सुधार ल्याउने उद्देश्यले मार्टिन लुथरले उच्च वर्गलाई मात्रै शिक्षित बनाउने सोचलाई चुनौती दिए। सन् १५२० मा उनले जर्मनीका ख्रीष्टियन शासक तथा उच्च वर्गलाई एउटा पत्र लेखे। त्यस पत्रमा उनले बाइबलको शिक्षालाई स्पष्ट पारे। बाइबलअनुसार, परमेश्वरका प्रत्येक सन्तान, चाहे उसको जात, वर्ग, रङ वा लिङ्ग जे भए पनि, राजकीय पूजाहारी हो (१ पत्रुस २:९)। लुथरले यस शिक्षालाई “सबै विश्वासीहरूको पूजाहारीपन” (Priesthood of All Believers) भने। हरेक पूजाहारीले परमेश्वरलाई चिन्नुपर्छ। त्यसका लागि परमेश्वरको वचन अध्ययन गर्नुपर्छ। परमेश्वरको वचन अध्ययन गर्न मानिसले आफ्नै भाषामा बाइबल पढ्न पाउनुपर्छ। त्यसैले लुथर आफैँले बाइबललाई जर्मन भाषामा अनुवाद गरे। तर समस्या अर्को थियो। जर्मनी मै विभिन्न स्थानीय भाषा बोल्ने सर्वसाधारण मानिसहरू पढ्न जान्दैनथे। उनीहरूलाई आफ्नै भाषा पढ्न र लेख्न सिकाउन विद्यालय आवश्यक थियो। विद्यालय कसले बनाउने र त्यसको खर्च कसले बेहोर्ने? सन् १५२४ मा लुथरले जर्मनीका विभिन्न सहरका नगरप्रमुख तथा नगर परिषद्का सदस्यहरूलाई एउटा पत्र लेखे। भजनसंग्रह ७८ लगायतका बाइबलका वचनहरूलाई आधार बनाएर उनले विद्यालय स्थापना गर्ने र सञ्चालन गर्ने जिम्मेवारी नगर परिषद्को पनि हो भन्ने तर्क प्रस्तुत गरे। परमेश्वरलाई हाम्रो “पिता” भन्नुको अर्थ मानिस केवल पशुजस्तै बाँच्ने प्राणी होइन भन्ने पनि हो। जसरी परमेश्वरले आफ्ना सन्तानको हेरचाह र शिक्षा दिनुहुन्छ, त्यसरी नै मानिसले पनि आफ्ना छोराछोरीको पालनपोषण गर्नुका साथै उनीहरूलाई शिक्षा दिनुपर्छ।

सन् १५३० सम्म आइपुग्दा लुथरले आमाबुबाहरू पनि शिक्षाको विकासमा एउटा बाधक बनेको महसुस गरे। उनीहरूलाई आफ्ना छोराछोरी विद्यालय किन पठाउनुपर्छ भन्ने कुरा बुझ्न गाह्रो भइरहेको थियो। किनभने उनीहरूका विचारमा छोराछोरीले जीवनभर गाईवस्तु दुहुने, दाउरा काट्ने वा साना बालबालिकाको हेरचाह गर्ने काम नै गर्ने हुन् भन्ने थियो। त्यसैले विद्यालय जानु किन आवश्यक छ भन्ने उनीहरूलाई लाग्दथ्यो। त्यसकारण लुथरले आमाबुबाहरूलाई आफ्ना छोराछोरी विद्यालय पठाउन र पढाइ पूरा नगर्दासम्म विद्यालयमै राख्न आग्रह गरे। उनको आग्रहको एउटै आधार भनेको परमेश्वरको वचन थियो। गरिब किसानहरू आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुको सट्टा परिवारको थोरै आम्दानी बढाउन काममा लगाउन चाहन्थे। तर लुथरले उनीहरूलाई परमेश्वरको वचनमाथि भरोसा राख्न र त्यसअनुसार चल्न आग्रह गरे। पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकता खोज्नुपर्छ (मत्ती ६:३१–३३)। लुथरको विश्वास थियो कि परमेश्वरको यही मार्गले उनीहरूको आर्थिक जीवनमा पनि सुधार ल्याउनेछ। के लुथरको यो प्रयास सफल भयो? सन् १६०० सम्म आइपुग्दा जर्मनीका कम्तीमा ३०० सहर तथा बस्तीहरूमा विद्यालय स्थापना भइसकेका थिए। यी विद्यालयहरू यति प्रभावकारी थिए कि सन् १५३७ मै रोमन क्याथोलिक धर्मशास्त्री तथा लुथरका राजनीतिक विरोधी जोन ज्विकले समेत एउटा महत्त्वपूर्ण कुरा स्वीकार गरेका थिए। उनले भनेका थिए, “यदि म फेरि बालक भएको भए, लुथरको शिक्षालाई पछ्याउने विद्यालयमै पढ्न जान्थेँ।” यी विद्यालयहरूले राम्रो शिक्षा दिनुको एउटा कारण थियो। तिनीहरू पैसा कमाउने उद्देश्यले स्थापना गरिएका थिएनन्। बरु, प्रत्येक बालबालिकाले परमेश्वरको राज्य खोज्न सकून् भन्ने उद्देश्यले स्थापना गरिएका थिए। निरक्षर सर्वसाधारणलाई शिक्षा दिनुपर्छ भन्ने सोच परमेश्वरकै योजना थियो। परमेश्वरले मिश्रको दासत्वबाट छुटकारा पाएका हिब्रू मानिसहरूलाई लिखित रूपमा दस आज्ञा दिनुभयो। ती मानिसहरू गोठाला र इँटा बनाउने कामदार थिए। उनीहरू पढेर भन्दा सुनेर कुरा सिक्ने गर्थे। अर्थात्, उनीहरूको सिकाइ मुख्यतः मौखिक परम्परामा आधारित थियो। परमेश्वर उनीहरूलाई एउटा महान् राष्ट्रका रूपमा विकास गर्न चाहनुहुन्थ्यो। त्यसैले उहाँले उनीहरूलाई आफ्नो लिखित वचन पढ्न, लेख्न, त्यसबारे मनन गर्न र अरूलाई सिकाउन आवश्यक ठान्नुभयो। जब सर्वसाधारण मानिसले आफ्नै भाषा पढ्न र लेख्न मिल्ने साहित्यिक भाषाका रूपमा विकास हुन्छ, तब त्यस भाषामा पुस्तक छाप्न र प्रकाशन गर्न सम्भव हुन्छ। यसले आम मानिससम्म ज्ञान पुर्‍याउने ठूलो माध्यमको विकास गर्छ। सर्वसाधारणले बोल्ने भाषालाई नै शिक्षा, साहित्य र कानुनको भाषा बनाउनु भनेको ज्ञानलाई सबैको पहुँचमा पुर्‍याउनु हो। यही आधुनिक लोकतन्त्रको एउटा आधार हो। जनताको भाषा प्रयोग नगर्ने शासन व्यवस्थाले जनताको सरकार, जनताका लागि सरकार र जनताद्वारा सञ्चालित सरकारको वास्तविक अभ्यास गर्न सक्दैन। बाइबलले विभिन्न स्थानीय बोलीहरूलाई लिखित तथा साहित्यिक भाषाका रूपमा विकास गर्न महत्त्वपूर्ण प्रेरणा दियो। यसले मिसनरी पठाउनु अभियानलाई पनि प्रेरित गर्‍यो। फलस्वरूप, विभिन्न देश र भाषामा बाइबल अनुवाद तथा प्रकाशन गर्ने काम अघि बढ्यो।यसरी बाइबलले अघि सारेको सबैका लागि शिक्षाको अवधारणा संसारभर फैलियो।

 (Adapted and translated from Vishal Mangalwadi’s lecture on the Third Education Movement- “Education”)

No comments: